काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका अवसरमा ‘अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा’ सम्मेलन आयोजना गर्ने भएको छ । केन्द्रले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी यही माघ १३ देखि १५ गतेसम्म सम्मेलन गर्ने जानकारी दिएको हो ।
सम्मेलनमा यस क्षेत्रसँग सम्बन्धित समस्या, चुनौती तथा अवसरबारे सरोकारवालासँगको अन्तरक्रिया, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता क्षेत्रको अवस्था, सरकारको प्राथमिकता तथा आवश्यकता, विकास साझेदारहरूसँगको प्राथमिकता एवं आगामी सहकार्य सम्बन्धमा विकास साझेदारहरूसँग छलफल गर्ने केन्द्रको भनाइ छ । यस्तै, उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जा रुपान्तरणसम्बन्धी सम्मेलन आयोजना गरिनेछ । केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले नेपालमा उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रको विकासमा सघाउ पुर्याउने स्वच्छ ऊर्जा रूपान्तरणलाई तीव्रता दिनका लागि सरोकारवालाबीच अनुभव आदानप्रदान, लगानीको अवसरबारे अन्तरक्रिया एवं आवश्यक रणनीति तर्जुमाका लागि विभिन्न प्रस्तुति रहने जानकारी दिए ।
सम्मेलनले नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता एवं जलवायु परिवर्तनसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी निकाय, प्रदेश सरकार तथा स्थानीय तह, अनुसन्धानमूलक, प्राज्ञिक संस्था, विकास साझेदार संस्था, लगानीकर्ता, यस क्षेत्रका अभ्यासकर्ता निजी क्षेत्र, सञ्चार जगत, नागरिक समाज एवं क्षेत्रगत विज्ञहरू एउटै स्थलमा उपस्थित हुने अवसर जुटाउनेछ । ढकालका अनुसार सम्मेलनमा तीन सय ५० भन्दा बढीको सहभागिता रहनेछ । यसका लागि १० वटाभन्दा बढी विभिन्न संस्थाहरूको सहयोग रहने केन्द्रको भनाइ छ ।
क्षेत्रगत आवश्यकता, अवसर र चुनौतीहरूको पहिचान, लगानीयोग्य आयोजनाको प्राथमिकीकरण तथा स्वच्छ ऊर्जा रूपान्तरणका लागि लगानीका सम्भावना तथा स्रोत परिचालनका अवसर, नेपालको ऊर्जा रूपान्तरण एवं जलवायु परिवर्तनसँग सम्बन्धित वर्तमान विकास साझेदारी एवं भविष्यको लगानी छनोटको सन्दर्भमा सो क्षेत्रमा भएका सफल आयोजना एवं थालनीका अभ्यासबारे अनुभव आदानप्रदान सम्मेलनको मुख्य लक्ष्य रहेको छ । सम्मेलनमा सम्भाव्य लगानीयोग्य आयोजना प्रस्तुत एवं लगानी अभिवृद्धिमा जोड, ज्ञानमूलक सामग्रीको उत्पादन, प्रकाशन तथा वितरण पनि गरिनेछ ।
सम्मेलनबाट नेपाल सरकारबाट हालै स्वीकृत ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१ र विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना, २०८० को प्रभावकारी कार्यान्वयनका लागि समेत सहयोग पुग्ने अपेक्षा छ । ऊर्जा रुपान्तरणसम्बन्धी विभिन्न विषयवस्तुमा आधारित रही पाँचवटा पूर्णसत्र सञ्चालन गरिनेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको क्षेत्रमा काम गर्ने प्रमुख निकाय हो । संयुक्त राष्ट्र सङ्घले पृथ्वी र पृथ्वीमा बसोबास गर्ने मानव तथा सम्पूर्ण प्राणीजगत्को हित गर्ने स्वच्छ ऊर्जाको न्यायपूर्ण र समावेशीरूपान्तरणका लागि सचेतना जगाउने र सोहीबमोजिमका क्रियाकलाप सञ्चालन गर्ने उद्देश्यका साथ सन् २०२४ देखि हरेक वर्ष जनवरी २६ लाई अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका रूपमा मनाउँदै आएको छ ।
केन्द्रले स्थापनाकालदेखि नै नवीकरणीय ऊर्जा प्रविधि विस्तार तथा ऊर्जा दक्ष प्रविधि र उपायहरूको प्रवर्द्धनको माध्यमबाट स्वच्छ ऊर्जाको पहुँच वृद्धि, ऊर्जा सेवालाई भरपर्दो, गुणस्तरीय र दिगो बनाउने र ऊर्जा सेवालाई आर्थिक क्रियाकलापहरूसँग सम्बद्ध गराई समावेशी आर्थिक सामाजिक विकासमा योगदान पुर्याउँदै आएको छ । ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१ मा राष्ट्रिय ग्रिड नपुगेका स्थानमा अफग्रिड सौर्य, वायु तथा लघु जलविद्युत्मार्फत आगामी दुई वर्षभित्र शत्प्रतिशत घरधुरीमा विद्युत् पुर्याउनेलगायत नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विभिन्न लक्ष्य समेटिएका छन् ।