काठमाडौं । नेपाली र थाई उद्यमीहरूबीच द्विपक्षीय लगानी अभिवृद्धिका बारेमा छलफल भएको छ । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको महिला उद्यमी विकास समितिको प्रतिनिधिमण्डलले थाइल्यान्डस्थित थाई चेम्बर अफ कमर्सका प्रतिनिधिहरूसँग बैंककमा भएको भेटवार्तामा द्विपक्षीय लगानी अभिवृद्धिका बारेमा छलफल गरेको थियो ।
थाई चेम्बर अफ कमर्शको निमन्त्रणामा बैंकक पुगेको प्रतिनिधिमण्डलले द्विपक्षीय भेटका अवसरमा नेपालमा लगानीको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै थाई उद्योगी व्यवसायीहरूलाई नेपालमा लगानीका लागि आग्रह गरेको थियो । यस्तै, नेपाली प्रतिनिधिमण्डलले नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय मेला महोत्सवमा भाग लिन तथा अन्य सहकार्यका क्षेत्रहरू पहिचान गरी नेपालमा लगानी गर्न पनि थाई व्यवसायीहरूलाई आग्रह गरेको थियो ।
नेपाली व्यवसायीहरूलाई स्वागत गर्दै थाई चेम्बरका बोर्ड अफ ट्रेड बन्जरड चोल्भिजानले नेपाली महिला उद्यमीहरूको क्षमता अभिवृद्धि तथा अन्य सहकार्यका लागि थाई चेम्बर सकारात्मक रहेको बताएका थिए । सो अवसरमा थाइल्यान्डस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन प्रकाश भण्डारीको पनि सहभागिता रहेको थियो ।