काठमाडौं, साउन ४
नेपाल इन्भेस्टमेन्ट बैंक (एनआईबीएल) बाढीपीडितलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत भारी वर्षाको कारण म्याग्दी जिल्लामा लगातार गइरहेको पहिरोबाट गम्भीर पीडित नागरिकहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको हो । बैंकले आफ्नो प्रशंसनीय संगठित सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रममार्फत बैंकको गण्डकी प्रदेशका प्रबन्धक, बिभु श्रेष्ठ र पोखरा शाखा प्रबन्धक, धीरज थापाद्वारा जिल्ला समन्वय समितिका व्यवस्थापक, देवेन्द्र बहादुर केसी र प्रमुख जिल्ला अधिकारी, ज्ञाननाथ ढकाललाई २० वटा पाल (टेन्ट) र एक सय वटा कम्बल प्रदान गरिदिएका हुन् । सो अवसरमा प्रहरी नायब उपरीक्षक, किरणजंग कुँवर र एनआईबीएल जलजला शाखा प्रबन्धक, दिलेश अर्याल पनि उपस्थित गरेका थिए ।
बैंकले उपलब्ध गराएका पालहरूमा, एउटापालमा दस जनासम्मले आश्रय लिन सक्छन् । पहिरोका कारण विस्थापित हुनेको संख्या सयौँ पुगेसँगै बैंकले पुनर्निर्माण र राहत कार्यमा योगदान दिनुपर्ने देखेर यो सहयोगको हात बढाएको हो । पहिरो पीडितहरूलाई सहयोग पु-याउने बैंक तथा वित्तीय संस्थाहरूमध्ये एनआईबीएल पहिलो संस्था हुन पाउँदा गर्व अनुभूति गरेको समेत बैंकले जानकारी दिएको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई अर्ब ४९ करोड ५५ लाख २७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा दुई अर्ब ५६ करोड ५६ लाख ३८ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १४ अर्ब २४ करोड ८९ लाख ५४ हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ५६ अर्ब ७७ करोड ९७ लाख ३१ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३८ अर्ब ११ करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब ५३ करोड ५९ लाख ५२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ४९ अर्ब ३९ करोड २२ लाख ८२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २२ अर्ब ८६ करोड ६५ लाख ५४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब ९१ करोड १७ लाख ९८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव चार प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।