काठमाडौं । नेपाल बैंकर्स संघले कर्जा असुली हुन नसक्दा त्यसको असर बैंकहरूको नाफामा परेको बताएको छ । सोमबार सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको भोलिपल्ट संघले अन्तरक्रिया कार्यक्रम गर्दै कर्जा असुलीकै कारण नाफामा असर परेको बताएका हो ।
संघका अध्यक्ष सन्तोष कोइरालाले कर्जा असुली तनावपूर्ण बन्दा यसको प्रत्यक्ष असर वाणिज्य बैंकहरूको नाफामा परेको बताए । ‘कर्जा प्रवाह गर्न सकेका छैनौँ, यो अवस्थामा हामीले कर्जा असुल्न पनि नसक्दा त्यसको असर वासलातमा देखिएको हो’, अध्यक्ष कोइरालाले भने । संघका उपाध्यक्ष सुरेन्द्र रेग्मीले पनि बैंकहरूको खराब कर्जा आत्तिनुपर्ने अवस्थामा नरहेको प्रस्ट पारे । ‘औसतमा एनपीएल चार दशमलव ४४ प्रतिशतमा छ यसबाट आत्तिहाल्नुपर्ने देखिँदैन’, उपाध्यक्ष रेग्मीले भने ।