काठमाडौं । विकास बैंकहरूमा साढे ४३ प्रतिशतसम्म निष्क्रिय कर्जा (खराब कर्जा) देखिएको छ । सञ्चालनमा रहेका १७ वटा विकास बैंकमध्ये मंगलबारसम्म १४ वटाले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
वित्तीय विवरण सार्वजनिक गरेकामध्ये नारायणी विकास बैंकको निष्क्रिय कर्जा सबैभन्दा धेरै ४३ दशमलव ६९ प्रतिशत देखिएको छ । सबैभन्दा कम मितेरी डेभलपमेन्ट बैंकको एक दशमलव ७४ प्रतिशत देखिएको छ । यी दुवै बैंक क्षेत्रीयस्तरको विकास बैंक हुन् । सो अवधिमा नारायणी विकास बैंकले ६२ लाख १३ हजार रुपैयाँ नोक्सानी बेहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नारायणीले छ करोड ३६ लाख ६२ हजार रुपैयाँ नाफा कमाएकोे थियो भने २७ दशमलव ७६ प्रतिशत निष्क्रिय कर्जा थियो । यस्तै मितेरीले दुई करोड ५८ लाख ५१ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा मितेरीले चार करोड ८८ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको थियो । एक वर्षअघि मितेरीको निष्क्रिय कर्जा दुई दशमलव ७४ प्रतिशत थियो ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा विकास बैंकहरूमध्ये सबैभन्दा बढी नाफा गरिमा विकास बैंकले कमाएको छ । गरिमाले ५४ करोड ९९ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको छ । गरिमापछि धेरै नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । मुक्तिनाथले ५० करोड ३१ लाख २२ हजार रुपैयाँ नाफा कमाएकोे छ । गरिमाको निष्क्रिय कर्जा चार दशमलव ७२ प्रतिशत र मुक्तिनाथको तीन दशमलव ९८ प्रतिशत छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा गरिमाले ५१ करोड २५ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको थियो भने निष्क्रिय कर्जा दुई दशमलव ९५ प्रतिशत थियो । यस्तै मुक्तिनाथले गत वर्ष दोस्रो त्रैमाससम्म ४२ करोड १७ हजार रुपैयाँ नाफा कमाएको थियो भने निष्क्रिय कर्जा दुई दशमलव ५१ प्रतिशत थियो ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ३३ करोड आठ लाख ५६ हजार रुपैयाँ नाफा कमाउँदा चार दशमलव ४० प्रतिशत निष्क्रिय कर्जा थियो । गत आर्थिक वर्षको सोही अवधिमा यो बैंकले ३७ करोड १२ लाख सात हजार रुपैयाँ नाफा कमाउँदा दुई दशमलव ६२ प्रतिशत निष्क्रिय कर्जा देखिएको थियो । कामना सेवा र महालक्ष्मी विकास बैंकले क्रमशः २८ करोड ७४ लाख ९९ हजार र २५ करोड एक लाख ३२ हजार रुपैयाँ नाफा कमाएका छन् भने निष्क्रिय कर्जा क्रमशः चार दशमलव ९३ र चार दशमलव ९८ प्रतिशत थियो । गत आर्थिक वर्षको सोही अवधिमा यी दुई बैंकहरूले क्रमशः २५ करोड ८९ लाख १९ हजार र २७ करोड ८० लाख ३६ हजार रुपैयाँ नाफा कमाउँदा निष्क्रिय कर्जा क्रमशः तीन दशमलव ४२ र चार दशमलव २१ प्रतिशत थियो ।
ज्योति, साँग्रिला र लुम्बिनी विकास बैंकले भने पछिल्लो अवधिमा क्रमशः २५ करोड एक लाख ३२ हजार, १९ करोड ६५ लाख ६१ हजार र १४ करोड ७६ लाख १८ हजार रुपैयाँ नाफा कमाउँदा क्रमशः चार दशमलव ९८, चार दशमलव ९९ र चार दशमलव ६८ प्रतिशत निष्क्रिय कर्जा छ । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूले क्रमशः १० करोड १० लाख ३४ हजार, १० करोड दुई लाख ३३ हजार र २१ करोड २२ लाख ६९ हजार रुपैयाँ नाफा कमाउँदा क्रमशः चार दशमलव ८८, चार दशमलव ८९ र तीन दशमलव ५५ प्रतिशत निष्क्रिय कर्जा छ ।
क्षेत्रीयस्तरको सिन्धु र कर्पोरेट डेभलपेन्ट बैंकले भने चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा क्रमशः चार करोड ८७ लाख चार हजार र एक करोड सात लाख ३९ हजार रुपैयाँ नाफा कमाउँदा क्रमशः नौ दशमलव शून्य छ र सात दशमलव ५३ प्रतिशत निष्क्रिय कर्जा छ । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूले क्रमशः दुई करोड ५१ लाख ६३ हजार र ९१ लाख ५१ हजार रुपैयाँ नाफा कमाउँदा क्रमशः एक दशमलव शून्य पाँच र चार दशमलव ६६ प्रतिशत निष्क्रिय कर्जा थियो । क्षेत्रीयस्तरकै एक्सेल र सप्तकोशी डेभलपमेन्ट बैंकले भने चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा क्रमशः नौ करोड पाँच लाख ३५ हजार र दुई करोड ९९ लाख १७ हजार रुपैयाँ खुद नोक्सानी बेहोर्दा क्रमशः आठ दशमलव ५६ र ११ दशमलव ४२ प्रतिशत निष्क्रिय कर्जा छ । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूले क्रमशः छ करोड ९९ लाख ४५ हजार र ११ करोड ९१ लाख ८६ हजार रुपैयाँ खुद नोक्सानी बेहोेर्दा क्रमशः चार दशमलव ७० र १४ दशमलव १६ प्रतिशत निष्क्रिय कर्जा थियो ।