दोलखा । जिल्लाको मेलुङ गाउँपालिकामा एक घर, एक गाईपालन अभियान सुरु भएको छ । गाउँपालिकाले कृषकहरूलाई गाईपालनमा व्यावसायिक बनाउने उद्देश्यले सो अभियान थालनी गरेको हो ।
पालिकाका किसानहरूले पालिकाको सहयोगमा जर्सी गाईपालन सुरु गरेका छन् । किसानलाई पशुपालनमार्फत आत्मनिर्भर बनाउन पालिकाले जर्सी गाई किन्न अनुदान दिने गरेको मेलुङ गाउँपालिका अध्यक्ष हिराकुमार थोकरले बताए । मेलुङ–२ का रामहरि अधिकारीका अनुसार जर्सी गाईले राम्रो मात्रामा दूध उत्पादन गर्ने भएकाले यसको माग पनि उच्च छ । जर्सी गाईले प्रतिदिन १९ लिटरसम्म दूध दिने अधिकारीले जानकारी दिए । यसको दूध गुणस्तरीय हुने र नजिकै दुग्ध संकलन केन्द्र भएकोले यो व्यवसाय लाभदायक बनेको अधिकारीले बताए ।
उनले वर्षौंदेखि भैँसी पनि पाल्दै आएका छन् । भैँसीले पनि दैनिक सात लिटरसम्म दूध दिने गरेको छ । त्यस्तै, मेलुङ–२ ठूलीबेसीका वीर बहादुर तामाङले पनि वर्षौंदेखि गाईपालन गर्दै आएका छन् । उनले यस ठाउँमा गाईपालन गरेको सात वर्ष बितिसकेको छ । उनको गोठमा अहिले छ वटा दूध दिने गाई छन् । यस वर्ष गाउँपालिकाले जर्सी गाई खरिदमा ५० हजारसम्म अनुदान दिने भएपछि उनले एउटा गाई थप गरेको बताए । गाईपालक किसानलाई सजिलो होस् भनि गाउँपालिकाले नजिकै दूध संकलन केन्द्र राखिदिएको छ । गाउँभरिका किसानलाई पायक पर्ने गरी ढलेवर, कल्लेरी, उपल्लो गाउँमा दूध संकलन केन्द्र राखिएको वडा नं २ का वडाध्यक्ष रामकृष्ण भण्डारीले जानकारी दिए ।
यस वडामा एक घर, एक गाई अभियान सञ्चालन गरी दूधमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको वडाध्यक्ष भण्डारीको भनाइ रहेकोे छ । अहिले वडानम्बर–२ मा मात्र ३४ वटा गाई पुर्याउनको लागि १७ लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले यस आर्थिक वर्षमा पशु, कृषि क्षेत्रको विकासको लागि डेढ करोड बजेट विनियोजन गरिएको पालिकाका अध्यक्ष तामाङले बताए । मेलुङ गाउँपालिका कृषि, फलफूल र पशुपालनको लागि उपयुक्त गाउँपालिका रहेको पनि अध्यक्ष तामाङको भनाइ रहेकोे छ । पालिकाकै पहलमा गाउँपालिकामा अहिलेसम्म ३४ घरपरिवारलाई गाई वितरण गरिसकेको छ । गाउँपालिकाले कृषकलाई पायक पर्नेगरी दूध संकलन केन्द्र समेत राखिदिएको छ । संकलन केन्द्रमा दूध पुर्याउन यातायातको सुविधा रहेको र समयमै रकम भुक्तानी हुने हुँदा कृषकहरू थप प्रोत्साहित भएको पालिका उपाध्यक्ष गायत्री आचार्यले बताइन् ।
गाउँपालिकाले कृषकहरूलाई गाईपालनमा प्रोत्साहन गर्न अनुदान कार्यक्रम सञ्चालन गर्नुको साथै गाई किन्न र घाँस उत्पादन गर्न आर्थिक सहयोग प्रदान गर्ने गरेको छ । कृषकहरूले गाईपालनसँगै घाँस खेतीलाई पनि प्राथमिकता दिएका छन् ।