काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गैरआवासीय नेपालीहरूको मागहरू विस्तारै पूरा हुँदै जाने बताएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले गरेको भेटमा प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीहरूको मागहरू बिस्तारै पूरा गर्दै लैजाने बताए ।
सरकार हाल कानुन निर्माणको चरणमा रहेकाले संसद्को हिउँदे अधिवेशनले गैरआवासीय नागरिकतासम्बन्धी समस्याको समाधान गर्ने बताए । ‘सबै एकैपटक नभए पनि क्रमशः तपाईंहरूले भोग्नुपरेको कठिनाई सम्बोधन हुन्छ’, उनले भने । प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष डा केसीले गैरआवासीय नेपाली संघले विदेशमा रहेका नेपालीहरूलाई संविधानले सुनिश्चित गरेका सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारको कार्यान्वयनका लागि आग्रह गरेका थिए । अध्यक्ष डा. केसीले लगानीको सबालमा सरकारले धेरै हदसम्म माग सम्बोधन गरे पनि उक्त लगानी भित्र्याउन आवश्यक गैरआवासीय नेपाली नागरिकताकै कार्यान्वयन नहुँदा प्राप्त उपलब्धिमा पनि खुसी हुने अवस्था नभएको गुनासो गरेका थिए ।
नेपाल कानुन सुधार आयोगबाट समेत प्रस्तुत भएको मस्यौदालाई पनि बेवास्ता गर्दै पछिल्लो पटक गैरआवासीय नेपाली नागरिताबाहकलाई १० वर्ष भिसा शुल्क छुट हुने प्रावधानको अध्यादेश जारी भएको उनको गुनासो थियो । सरकारले अध्यादेशमार्फत गैरआवासीय नेपालीहरूलाई १० वर्षे भिषा दिने व्यवस्था लागू गरेपछि संघका अध्यक्ष डा बद्री केसीले राजनीतिक नेतृत्वसँगको भेटलाई तीव्र पारेका छन् ।
संघका अध्यक्ष डा. बद्री केसीले मंगलबार पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गरेका थिए । देउवा निवास बुढानीलकण्ठमा भएको भेटमा अध्यक्ष डा. केसीले सरकारले विदेशमा बस्ने नेपालीलाई गैरआवासीय नेपाली नागरिकता दिन थाले पनि त्यसको संविधानतः कार्यान्वयन नहुँदा समस्या परेको गुनासो गरेका थिए । पूर्वप्रधानमन्त्री देउवाले केही दिनमा सुरु हुने हिउँदे अधिवेशनबाटै संविधानले दिएका अधिकार कार्यान्वयनका लागि मार्गप्रशस्त गर्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाएका थिए । ‘संविधानले नै दिएको अधिकार हो, जेजति कारण कार्यान्वयन नभएको भए पनि आगामी हिउँदे अधिवेशनबाट यो विषय सम्बोधन होला, मैले गर्नुपर्ने पहल गर्छु’, देउवाले भने । यसअघि उनले गृहमन्त्री रमेश लेखकलगायतलाई भेटेर संघका माग बारे ध्यानार्कषण गराएका थिए ।