काठमाडौं । विश्वभरिका सांस्कृतिक चलचित्रको प्रवर्द्धनका लागि हरेक वर्ष नेपालमा आयोजना हुँदै आएको ‘नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभल’को छैटौँ संस्करण काठमाडौंमा माघ १७ देखि १९ गतेसम्म हुने भएको छ ।
महोत्सवमा नेपालसहित ४७ देशका ९८ वटा चलचित्र महोत्सवमा चयन गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । महोत्सवका लागि ६० देशका चार सयभन्दा बढी चलचित्रको आवेदन परेको महोत्सव आयोजक संस्था नेपाल चलचित्र तथा संस्कृति केन्द्रका अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए । ‘हामीलाई प्राप्त करिब चार सय वटा चलचित्रलाई प्रारम्भिक चलचित्र चयन समूहले करिब डेढ महिना लगाएर हरेपछि ९८ वटा चलचित्रहरू चयन गरिएको छ’, उनले भने, ‘महोत्सवमा लघु चलचित्रसँगै कथानक चलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्रलगायत महिला, बालबालिका, मानव अधिकारका चलचित्रहरू पनि प्रतिस्पर्धामा समावेश गरिएका छन् ।’ दुई मिनेटदेखि साढे दुई घण्टासम्मको चलचित्र महोत्सवको लागि चयन भएको उनले बताए ।
महोत्सवको लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय जुरी चयन गरिएको छ । भारतबाट चलचित्र निर्देशक निपोन धौला, जर्मनी चलचित्रकर्मी फाविन मात्थियस र चलचित्रकर्मी इभिन बिराजी, बेलायतबाट चलचित्र लेखक तथा निर्देशक लुईसा प्रिटोलानी, क्यानडाबाट चलचित्र निर्देशक जुडी ग्लाड्स्टोन, इरानबाट अभिनेत्री, लेखक तथा निर्देशक तिमा टाघिजादेह, बहराइनबाट चलचित्र निर्माता निर्देशक एवम् लेखक इभा दाउद र रुसबाट चलचित्रकर्मी इरिना बेराजी जुरी रहेका छन् । नेपालबाट निर्णायकको रूपमा सङ्गीतकार तथा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष शम्भुजीत बास्कोटा, अभिनेत्री मिथिला शर्मा, चलचित्र निर्देशक दीपेन्द्र के खनाल, अभिनेता प्रदिप खड्का र टेलिभिजनकर्मी टीकाराम यात्री अभिनेत्री सुरक्षा पन्त, चलचित्र निर्माता एवम् निर्देशक रौनक विक्रम कँडेल र निर्देशक दिनेश लिङ्देन रहेका छन् ।
महोत्सवमा दक्षिण एसियाली मुलुकहरू भारत, बङ्गलादेश, पाकिस्तानसहित पूर्वी एसियाको चीन, जापान, थाइल्यान्ड, कोरिया, युएई, कतार, हङकङ, फिलिपिन्स, इन्डोनेसिया, भियतनामजस्ता देशका चलचित्रहरू चयन भएका छन् । यस्तै, संयुक्त राज्य अमेरिका, क्यानडा, अस्ट्रेलिया, अर्जेन्टिना, बेलायत, फ्रान्स, इटाली, आयरल्यान्ड, जर्मनी, रसिया, ट्युनेसिया, पोर्चुगल, पोल्यान्ड, हङ्गेरी, ग्रिस, फिनल्यान्ड, डेनमार्क, बुल्गेरिया, चेक रिपब्लिक, अस्ट्रियासहित विभिन्न युरोपियन मुलुकका चलचित्र यो महोत्सवमा चयन भएका छन् । यस्तै, मोरक्को, इजिप्ट, जमैका, क्यामरुन, सर्भिया, दक्षिण अफ्रिकासहित विभिन्न अफ्रिकन देशका चलचित्र पनि यो महोत्सवमा फाइनलको लागि चयन गरिएको छ ।
महोत्सवमा चलचित्र प्रदर्शनसँगै चलचित्रको विषयमा अन्तरक्रिया, मास्टर क्लास, कार्यशालाका साथै कला प्रदर्शनी समेत रहेको छ । महोत्सवमा चयन भएका चलचित्रहरूले उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायाकारलगायत उत्कृष्ट लघु चलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्र, महिला चलचित्र, बालबालिका चलचित्र, मानव अधिकारका चलचित्रजस्ता विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् । यी विभिन्न विधामा सर्वोत्कृष्ट भएका चलचित्र तथा कलाकार प्राविधिकलाई महोत्सवको समापन समारोहमा अवार्ड प्रदान गरिनेछ । विभिन्न फरक–फरक विधाका उत्कृष्ट १५ वटा राष्ट्रिय तथा १५ वटा अन्तर्राष्ट्रिय गरी ३० चलचित्रहरूलाई पुरस्कृत गरिनेछ । साथै, चलचित्र क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूलाई सम्मान गरिनेछ ।