काठमाडौं । १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । त्यो वस्तु लागूऔषध हुनसक्ने शंका गरिएको छ ।
सोमबार लागूऔषध जस्तो देखिने वस्तु क्याथे प्यासिफिक एयरलाइन्सबाट हङकङ जान लागेका चिनियाँ नागरिकको सुटकेशभित्र भेटिएको थियो । लागूऔषध भएको शंका लागेर केरकार गरेका विमानस्थल सुरक्षामा खटिएका एक अधिकृतले बताए ।
लागूऔषध जस्तो देखिने वस्तु बरामद भएपछि लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) लाई बुझाइएको बताउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले भने, ‘नियमित जाँचका क्रममा भेटिएपछि थप अनुसन्धानका लागि पठाएका छौं ।’
बरामद वस्तुलाई परीक्षणका लागि लागूऔषध नियन्त्रण ब्यूरोले प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको छ । ब्यूरोका प्रवक्ता रामेश्वर कार्कीले नतिजा आएपछि सार्वजनिक गर्ने जानकारी दिए ।