ढोरपाटन (बागलुङ) । बागलुङ नगरपालिकालाई ‘स्थानीय शासनयुक्त बालमैत्री नगर घोषणा’ सभामा बुधबार उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले नागरिक पक्षमा केन्द्रित रहँदै नागरिकका निराशा चिर्दै नागरिकमा आशा जगाउने काम गरिरहेको बताएका छन् ।
मन्त्री सिंहले शिक्षा, स्वास्थ्य, रोजगार र व्यावसायिक क्षेत्रको सुधार गर्न सरकार योजना बनाएर अघि बढिरहेको उल्लेख गरे । स्वदेशमा सीप विकास, रोजगारीका अवसर सृजना गर्दै युवालाई स्वदेशमा बस्ने वातावरण बनाउने पक्षमा काम भइरहेको भन्दै उपप्रधानमन्त्री सिंहले अब देश बनेन भनेर चिन्तित हुनुपर्ने अवस्था नभएको बताए । बाहिर हुने हल्लाको पछाडि नलाग्न आग्रह गर्दै उनले पछिल्लो समय सकारात्मकभन्दा नकारात्मक टीकाटिप्पणी बढी हुने गरेको बताए ।
सरकारले शिक्षालाई गुणस्तरीय, व्यवहारिक र जीवनउपयोगी बनाउनका लागि काम गरिरहेको मन्त्री सिंहको भनाई छ । अबको शिक्षा दक्ष जनशक्ति उत्पादन गर्ने खालको हुने मन्त्री सिंहले बताए । लामो समय सरकारले स्थायित्व नपाउँदा धेरैमा निराशा छाएको भन्दै उनले वर्तमान सरकारले विकास निर्माण र जनताको आवश्यकताअनुसार काम गर्ने प्रतिबद्धता जनाए ।
सो अवसरमा बागलुङ नगरपालिका–१३ मा पर्ने गणेशमान सिंह मार्ग समयमा निर्माण सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउदै मन्त्री सिंहले बागलुङ नगरपालिकाले जस्तै अन्य पालिका पनि चाँडै बालमैत्री बन्नुपर्नेमा उनले जोड दिए ।