काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल राष्ट्रिय गौरवको प्रतीक भएको बताएका छन् । २४औँ सशस्त्र प्रहरी दिवसका अवसरमा बुधबार हल्चोकमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले सीमाको सुरक्षा र अवैध गतिविधि रोकथाम, विपद् व्यवस्थापन र शान्ति मिसनमा सशस्त्र प्रहरीले बलले पुर्याएको योगदानबाट संगठनलाई राष्ट्रिय गौरवको प्रतिकका रूपमा उभ्याएको बताए ।
बाढी, पहिरो, आगलागी, भूकम्प, दुर्घटना, महामारीजस्ता प्राकृतिक वा मानव सिर्जित विपद् उद्धारका क्षेत्रमा सशस्त्र प्रहरीले गरेका कामको नेपाल सरकारले उच्च मूल्याङ्कन गरेको उनको भनाइ थियो । दङ्गा तथा गम्भीर अशान्ति नियन्त्रण होस् वा दैवी प्रकोप र महामारीबाट प्रभावित जनताको उद्धारमा सशस्त्र बलले आफ्नो भूमिका निष्ठापूर्वक निर्वाह गरेको उनले बताए । ‘कठिन परिस्थितिमा पनि देश र जनताको सेवामा निरन्तर खटिने र प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने यहाँहरूको भूमिका मुलुकको शान्ति र स्थिरताका लागि अत्यन्त महत्वपूर्ण रहेको छ’, उनले भने ।
गृहमन्त्रीले संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ विभिन्न मिसनमा व्यावसायिकताका साथ काम गरी नेपालको नाम उच्च बनाउने कार्यमा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताए । उनले संयुक्त राष्ट्र सङ्घीय मिसनमा थप सहभागिताका लागि मन्त्रालय सकारात्मक रहेको बताए ।
सीमा तथा सीमास्तम्भको सुरक्षा, सीमापार अपराध, अवैध चोरीपैठारी, मानव बेचबिखन तथा लागू पदार्थको ओसारपसारलगायत अपराध नियन्त्रण गर्न सशस्त्र प्रहरी ‘डेडिकेटेड’ फौजका रूपमा रहेको उल्लेख गर्दै उनले आगामी दिनमा सामाजिक कार्यमार्फत यस्ता अपराधलाई न्यूनीकरण गर्न अग्रसर हुन आग्रह गरे । सशस्त्र प्रहरी बलको सुदृढीकरणका लागि थप जनशक्तिको व्यवस्थासहित बोर्डर आउट पोस्ट स्थापनाको प्रयास भइरहेको उनले जानकारी दिए ।
सरकार सशस्त्र प्रहरी बलको क्षमता वृद्धि, प्रविधिको विस्तार, जनशक्ति व्यवस्थापन र सुविधाको विस्तारमा सधैँ प्रतिबद्ध रहेको जनाउँदै गृहमन्त्री लेखकले आगामी दिनमा सशस्त्र प्रहरीलाई अझ थप प्रभावकारी संगठनको रूपमा विकास गर्न आवश्यक सबै पक्षलाई बलियो बनाउन सरकार प्रयत्नशील रहेको बताए । इमान्दारिता पूर्वक कर्तव्य निर्वाह गर्ने सन्दर्भमा आइपर्ने कुनै पनि समस्यामा सकल दर्जाको पेसागत सुरक्षाका लागि सरकार र गृह मन्त्रालयले अभिभावकत्व प्रदान गर्ने उनले विश्वास दिलाए ।
कार्यक्रममा उनले सशस्त्र प्रहरीसम्बन्धी कानुनलाई केही दिनभित्रै संसद्मा दर्ता गरिने जानकारी दिए । सम्पूर्ण अधिकृतदेखि जवानसमेतको आवाजलाई समेटेर कानुनको तर्जुमा गरिएको बताउँदै उनले लामो समयदेखि सशस्त्र प्रहरी जवानहरूले उठाइरहेको १६ वर्षमा अवकाशमा जान पाउने प्रावधानलाई कानुनमा समावेश गरिएको बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मुलुकको अन्तर्राष्ट्रिय सीमालाई सुरक्षित राख्न दशगजाको सरसफाइ, अवैध संरचना र खेती हटाउने कार्यलाई समकक्षीसँग समन्वय गरेर अघि बढाइएको बताए । उनले सीमा इलाकामा हुने अवैध चोरीपैठारी तथा सीमापार अपराध नियन्त्रणको कार्यलाई सङ्गठनले उच्च प्राथमिकतामा राखेको जानकारी दिए । सबै सुरक्षा निकायसँग निकट समन्वयका साथ राज्यप्रदत्त कार्यादेशलाई कुशलतापूर्वक बहन गर्दै सरकारको निर्देशनलाई पालना गरेर सकलदर्जा परिचालित हुँदै आएको उनले स्पष्ट पारे ।
कार्यक्रममा गृहमन्त्री लेखकले अवकाश प्राप्त सशस्त्र प्रहरी नायब महानिरीक्षक नवराज विष्टलाई ‘एपिएफ लाइफटाइम एचिभमेन्ट अवार्ड’ र उत्कृष्ट कार्यसम्पादन गर्ने नं ३ गढीमाई बाहिनीका प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ठाडामगरलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गरेका थिए । यस्तै, सशस्त्र प्रहरी बलले प्रकाशन गरेको ‘एपीएफ वर्ष पुस्तक’ लोकार्पण पनि गरिएको थियो । कार्यक्रममा सशस्त्र प्रहरीका खेलाडीले जुडो, उसु र तेक्वान्दो खेल प्रदर्शन गरेका थिए । यस्तै, भूकम्प, केबलकारमा अड्किएका यात्रुको उद्धार र शान्ति मिसनमा खटिँदा अपहरणमा परेका प्रहरी प्रमुखको सकुसल रिहाइ गरेको नमुना अभ्यास समेत प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा ५१ लाख ३९ हजार चार सय दुई रुपैयाँ सहयोग गरेको छ । महानिरीक्षक अर्यालले उक्त रकम बराबरको चेक गृहमन्त्री लेखकलाई हस्तान्तरण गरेका थिए । विपद्मा परेका नागरिकहरूलाई राज्यद्वारा प्रदान गरिने राहत वितरणमा हातेमालो गर्ने उद्देश्यले संगठनका अधिकृतबाट संकलित रकम हस्तान्तरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले २४ वर्षको अवधिमा सीमासुरक्षा, आन्तरिक सुरक्षा, राजस्व, भन्सार र औद्योगिक सुरक्षा तथा विपद् व्यवस्थापनमा आफूलाई क्रियाशील बनाएको छ ।
सशस्त्र प्रहरीले ‘नशारहित युवा देशका कर्णधार, सुरक्षित सीमा समृद्ध राष्ट्र निर्माणको आधार’ नारासहित यस वर्ष लागुऔषधविरूद्धको वर्ष मनाउने निर्णय गरेको छ । चोरी निकासी–पैठारी रोकथाममा राज्यलाई सघाएको सशस्त्र प्रहरी बलले गत आवमा एक अर्ब ६४ करोड छ लाख सात हजार रुपैयाँ बराबरको चोरीनिकासी नियन्त्रण गरेको थियो । यस्तै, चालू आवको छ महिनामा एक अर्ब पाँच करोड २९ लाख ७५ हजार रुपैयाँ बराबर राजस्व संकलनमा योगदान गरेको जनाएको छ ।