काठमाडौं । डामाडोल अवस्थामा पुगेको अर्थलाई सकारात्मक सुधारको लयमा फर्काउने भन्दै बाचा गरेको बलियो सरकारको आयु जतिजति बढ्दै गएको छ । यता आर्थिक सुधारका संकेतहरू भने झन्झन् नकारात्मकरूपमा प्रकट भइरहेका छन् । पुस महिना सरकारको आयु छ महिना पूरा भएको छ । यसका साथै यही महिना चालु आर्थिक वर्षको पनि छ महिना पूरा भयो । आर्थिक वर्षको प्रारम्भदेखि नै सरकार चलाउन पाएको अवस्था वास्तवमा सरकारका लागि एउटा मौका पनि हो । तर के कारणले हो यसले खासगरी अर्थमा कबोल गरेजसरी सुधार गर्न भने सकेको देखिएन । यो कुनै आरोप होइन । जुनजुन कुराले देशको आर्थिक अवस्था ठीक ढंगले चलेको छैन भन्ने सूचना दिन्छन् ती–ती कुरा बढीरूपमा प्रकट भइरहेका छन् । जस्तो आम्दानी बढ्न सकेको छैन । सामान्य खर्च चलाउन पनि ऋण काढ्नुपर्ने अवस्था छ । मुद्रास्फीति बढिरहेको छ । देशको बन्द व्यापार मन्द अवस्थामा नै छ । बैंकमा रकम थुप्रिएको छ तर लगानी भएको छैन । भएको लगानी पनि खराब कर्जामा परिणत हँुदैछन् । यसकै कारण वित्तीय संस्थाहरूको नोक्सानी बढिरहेको छ ।
अर्थका लागि यी संंकेत राम्रा होइनन् । अर्थसँग सम्बन्धित बितेको छ महिनाको सूचनामा बैंकहरूको खराब कर्जामा अधिक वृद्धि हुँदै गएको कुरा आएको छ । हालै बैंकहरूले आफ्नो चालू आर्थिक वर्षको पहिलो छ महिनाको प्रतिवेदन प्रस्तुत गरेका छन् । त्यसमा प्रायः धेरै बैंकहरूको खराब कर्जा बढेको देखियो । त्यो पनि कतिसम्म भने अघिल्लो वर्षको तुलनामा ठूलो प्रतिशतकै हाराहारीमा रहेका देखिए । यद्यपि सबै त्यस्ता होइनन तर एक–दुईवटै भए पनि यसले समग्र बजारको प्रतिनिधित्व गर्छ । चालू आवको दोस्रो त्रैमासमा २० वटा वाणिज्य बैंकमध्ये १९ वटा वाणिज्य बैंकको खराब कर्जा बढेको देखिएको होे । कसैका मात्रा बढी छन् कसैका कम तर बीसमा उन्नाइस बैंंकहरूको खराब कर्जा बढेको देखिनु नकारात्मक सूचना नै हुनुपर्छ । यसमा बैंकका व्यवस्थापकीय मजोरी पनि होलान् । तर यति ठूलो संख्याका वित्तीय संस्थाहरूको लगानी खराब कर्जामा परिणत हुनु भनेको आफैंमा कतै न कतै कैफियत रहेको मान्नुपर्छ । कुनै बैंक विशेषमा नलागी समग्रमा भन्ने हो भने अघिल्लो वर्षको तुलनामा घटनुपर्ने बैंकहरूको खराब कर्जा यो वर्ष बढेको देखियो । गत आर्थिक वर्षको यो समयमा बैंकहरूको खराब कर्जा औसतमा दुई दशमलव ९१ प्रतिशत रहेकोमा यो वर्ष चार दशममलव ४५ प्रतिशत कायम भएको देखिन्छ ।
नेपाल राष्ट्र बैंकले बेलाबेला देशको आर्थिक अवस्थाका बारे आफ्नो प्रतिवेदनमार्फत सार्वजनिक गर्ने गरेको तथ्याङ्कअनुसार खराब कर्जा उच्च भएमा बैंकहरूको वित्तीय अवस्थामै समस्या पैदा गर्छ । सामान्यरूपले हेर्दा खराब कर्जा बढ्नुमा बैंकहरूको आफ्नो समस्याजस्तो देखिन्छ । केही मानेमा यस्तो हुन पनि सक्छ । पछिल्ला दिन बैंकिङ कसुरका घटनाहरू बढिरहेका छन् । त्यसमा कर्जा दिने र लिनेबीचको अधिक मिलेमतो रहेको भन्ने निष्कर्ष आएको थियो । तर अहिलको खराब कर्जाको अवस्था भिन्न छ । बीसमध्ये उन्नाइस वटाको खराब कर्जा बढ्नु भनेको बजारमा आएका मन्दीको कारण पनि हुन सक्छ । अधिकांश कर्जा असुलीमा समस्या आउनु भनेको बजारमा मन्दीको मार परेको पनि हुन सक्छ । खराब कर्जा झन् बढ्दो क्रममा देखिएको यो अवस्थाले अबका लगानीहरूमा पनि मन्दी ल्याउन सक्छन् । अहिले पनि व्याज घटेकोघट्यै छ तर लगानी बढिरहेको छैन । अर्थका लागि यस्ता सूचना राम्रा होइनन् । अबको ध्यान यो ठाउँमा केन्द्रित हुन आवश्यक देखिन्छ ।