वासिङ्टन । अमेरिकामा अवैधरूपमा बसोबास गर्दै आएका भारतीय नागरिकलाई फिर्ता गर्ने भारतले बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ प्रशासनका उच्च कूटनीतिज्ञसँगको भेटपछि विदेशमन्त्री सुब्रमण्यम जयशंकरले संयुक्त राज्य अमेरिकामा अवैधरूपमा बसिरहेका आफ्ना नागरिकलाई फिर्ता लिन भारत तयार रहेको बताएका हुन् ।
अमेरिकी विदेश मन्त्री मार्को रुबियोसँग ट्रम्पले पदभार ग्रहण गरेको एक दिनपछि मंगलबार वासिङ्टनमा भएको भेटवार्तापछि भारतीय विदेशमन्त्री जयशंकरले यस्तो टिप्पणी गरेका हुन् ।
ट्रम्पले यसै साता कार्यकारी आदेश जारी गर्दै अवैध आप्रवासनमाथि कडाइ गर्नु र लाखौँ आप्रवासीलाई देश निकाला गर्ने आफ्नो लक्ष्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।
जयशंकरले नयाँ दिल्ली कागजातविहीन भारतीयहरूलाई फिर्ता लिन तयार रहेको र संयुक्त राज्य अमेरिकामा रहेका आफ्ना नागरिकलाई भारतमा निर्वासित गर्न सकिनेहरूको प्रमाणीकरण गर्ने प्रक्रियामा रहेको बताए ।
जयशंकरले बुधबार वासिङ्टनमा भारतीय पत्रकारहरूको एक समूहसँग भने, ‘भारतीय प्रतिभा र कौशलले विश्वव्यापी स्तरमा अधिकतम अवसर पाऊन् भन्ने हामी चाहन्छौँ । हामी अवैध आवागमन र अवैध आप्रवासनको पनि कडा विरोध गर्दछौँ ।’
उनले भने, ‘हामीले जहिले पनि यो दृष्टिकोण लिएका छौँ कि अमेरिसहित विश्वका हरेक देशमा हाम्रा कोही पनि नागरिक अवैधरूपमा छन् हाम्रा नागरिक हुन् भने, हामी सधैं उनीहरूको वैध भारत फिर्तीको लागि खुला छौँ ।’
जयशड्ढरले ट्रम्प प्रशासनसँग मिलेर १८ हजार भारतीयलाई देश निकाला गर्न भारतले काम गरिरहेको भन्ने समाचारको जवाफमा यस्तो बताएका हुन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टामी ब्रुसले मङ्गलबारको बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विदेश मन्त्री रुबियोले भारतसँग मिलेर आर्थिक सम्बन्ध अघि बढाउन र अनियमित आप्रवासनसँग सम्बन्धित चिन्तालाई सम्बोधन गर्न ट्रम्प प्रशासनको इच्छामा जोड दिनुभएको छ ।’
भारत विश्वको पाँचौँ ठूलो अर्थतन्त्र हो र यसले विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिको आनन्द उठाइरहेको छ, तर लाखौं भारतीयहरू अझै पनि राम्रो अवसरको खोजीमा हरेक वर्ष विदेशमा विदेशिने गरेका छन् । रासस/एएफपी