काठमाडौं । सरकारले रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधि दिने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने निर्णय गरेका छन् ।
निकै महँगो औषधि आवश्यक पर्ने रोगको उपचारका लागि धेरै बिरामी तथा सरोकारवालामार्फत सरकारले आफैँ व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए । जटिल किसिमको वंशाणुगत तथा पछि समेत देखिने यस रोगको उपचारका लागि आवश्यक औषधि अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका संघीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाट समेत उपलब्ध गराउनेछ । ‘विश्व हिमोफिलिया महासंघबाट अनुदान प्राप्त गरी सरकारी अस्पतालबाट बिरामीलाई उपलब्ध गराउने निर्णय गरेका छौँ’, मन्त्री पौडेलले भने, ‘धेरै पीडित तथा सरोकारवालाबाट महँगो उपचार सरकारमार्फत होस् भन्ने अनुरोध स्वीकार गरेका छौँ ।’
मन्त्रालयले यस औषधिका लागि राज्यकोषमा भार नपर्नेगरी विश्व हिमोफिलिया महासंघमार्फत प्राप्त गर्ने मन्त्रालयअन्र्तगतको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले बताए । नेपालमा हाल करिब नौ सय जना यो रोगका बिरामीका रूपमा पहिचान भएका छन् । तर विश्व स्वास्थ्य संगठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब पाँच हजार बिरामी रहेको अनुमान गरेको छ । २०७८ को जनगणनामा दुई दशमलव दुई प्रतिशतमा अपाङ्गता देखिएकामध्ये शून्य दशमलव आठमा हिमोफिलिया भएको हुन सक्ने ठानिएको छ । मन्त्रालयले संघीय, सरकारी तथा प्रादेशिक तहमा मागका आधारमा औषधि उपलब्ध गराउने तयारी गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।