महेन्द्र शाही
सोलुखुम्बु, साउन ५
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले पठनपाठन सुचारु गर्नेभएको छ । गाउँ शिक्षा समितिको बैठकले संक्रमण बढेमा वा नेपाल सरकारबाट विशेष निर्देशन परिपत्र भएमा सोहीबमोजिम हुनेगरी हाललाई साउन २२ गतेदेखि विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको हो । साउन ५ गतेभित्र जिल्लाबाहिर रहेका शिक्षक तथा कर्मचारीहरू सम्पर्कमा आई १४ दिनको होम क्वारेन्टाइनमा बसेपछि मात्रै पठनपाठन सुरु हुने अध्यक्ष असिम राईले जानकारी दिए ।
जिल्लाबाहिर रहेका शिक्षकहरूलाई कार्यक्षेत्रमा फर्कन भनिएको अध्यक्ष राईको भनाइ छ । कोरोना संक्रमणलाई मध्यनजर गरी सरकारले गरेको लकडाउनका कारण गत चैत्रदेखि विद्यालय बन्द रहेको अवस्थामा थुलङ दूधकोशी गाउँपालिकाले उच्च सतर्कता अपनाएर पठनपाठन सुरु गर्न लागेको अध्यक्ष राईले बताए । विद्यालय सञ्चालन गर्दा सामाजिक दूरी अनिवार्य कायम गर्ने, जंक फुडलाई निरुत्साहित गर्ने र विद्यालय सञ्चालनका सम्बन्धमा विद्यालयहरूले वडा शिक्षा समितिसँग समन्वय गरी अभिभावकहरूलाई अभिमुखीकरण गर्नेसमेत निर्णय गरेको छ ।
लकडाउनका कारण सबैभन्दा बढी शिक्षा क्षेत्र तहसनहस भएको बताइएको छ । जिल्लामा पठनपाठन सञ्चालन गर्ने निर्णय गर्ने थुलुङ दूधकोशी गाउँपालिका पहिलो बनेको छ । अन्य स्थानीय तहले यस विषयमा कुनै योजना बनाएका छन् । तर अधिकांश स्थानीय तहले विद्यालय सञ्चाल गर्ने विषयमा कुरा भइरहेको बताइरहेका छन् ।