काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२को पहिलो छ महिना (साउन–पुस)मा बीमा कम्पनीहरुले एक खर्ब दुई अर्ब ४८ करोड ३३ लाख रुपैयाँबराबरको व्यापार गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार एक वर्षअघिको तुलनामा बीमा कम्पनीहरुको व्यापार नौ दशमालव ४२ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म बीमा कम्पनीहरुले ९३ अर्ब ६६ करोड १७ लाख रुपैयाँको व्यापार गरेका थिए ।
जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले छ महिनामा ८१ अर्ब १७ करोड ६८ लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका छन् । नेपालमा अहिले १४ वटा जीवन बीमा कम्पनी र तीनवटा लघु बीमा कम्पनी सञ्चालनमा छन् ।
जीवन बीमा कम्पनीहरुको व्यापार पुस महिनामा मात्रै १५ अर्ब तीन करोड १५ लाख रुपैयाँले बढेको छ । मंसिरसम्म जीवन बीमा कम्पनीहरुले ६६ अर्ब १४ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका छन् । जीवन बीमा कम्पनीले वैदेशिक रोजगारबाहेकको प्रथम बीमाशुल्क १५ अर्ब ८४ करोड १४ लाख, वैदेशिक रोजगार बीमाशुल्क एक अर्ब ४३ करोड ४३ लाख तथा नवीकरणबापत ६३ अर्ब ३८ करोड ८० लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका हुन् ।
यस्तै, तीनवटा लघु बीमा कम्पनीहरुले छ महिनामा कुल ५१ करोड २९ लाख ९५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यसमध्ये २८ करोड सात लाख प्रथम बीमाशुल्क, २२ करोड ९६ लाख वैदेशिक रोजगार बीमाशुल्क तथा नवीकरणबापत २६ लाख ४१ हजार रुपैयाँ सङ्कलन गरेका छन् ।
निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले छ महिनामा २१ अर्ब ३० करोड ६५ लाख रुपैयाँ प्रिमियम सङ्कलन गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा नौ दशमलव ६० प्रतिशत धेरै हो । गत वर्ष पुसम्म निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ४४ करोड रुपैयाँबराबरको व्यापार गरेका थिए ।
यसमध्ये १४ वटा निर्जीवन बीमा कम्पनीहरुले २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँबराबरको व्यापार गरेका छन् भने चारवटा लघु निर्जीवन बीमा कम्पनीहरुले ४२ करोड २९ लाख रुपैयाँबराबरको व्यापार गरेका छन् ।
प्राधिकरणका अनुसार सक्रिय जीवन बीमालेख संख्या एक वर्षअघिको तुलनामा दुई दशमलव शून्य आठ प्रतिशत बढेको छ । गत वर्ष पुससम्म एक करोड ३७ लाख ५५ हजार तीन सय ९६ लाख बीमालेख जारी भएकामा यस वर्ष पुसम्म यो संख्या बढेर एक करोड ४० लाख ४२ हजार तीन सय ५३ पुगेको छ ।
निर्जीवन बीमालेख संख्या पनि आठ दशमलव एक प्रतिशत बढेको छ । गत वर्ष पुसम्म १४ लाख ४१ हजार चार सय ४९ निर्जीवन बीमालेख संख्या रहेकोमा यस वर्ष पुससम्म बढेर १५ लाख ५७ हजार सात सय ९० पुगेको छ ।
बीमा प्राधिकरणको अध्यक्षका लागि एक दर्जन व्यक्तिको आवेदन
नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि एक दर्जन व्यक्तिको आवेदन परेको छ । अर्थ मन्त्रालयका अनुसार अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले अध्यक्षको माग गर्दै आवेदन खुला गरेको थियो ।
समितिको सोही माग अनुरुप कमलप्रसाद रेग्मी, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, डिमप्रसाद पौडेल, रामशरण पुडासैनी, डा. देवराज रोका, शरद ओझा, चीरञ्जीवी चापागाईं, विक्रान्त पाण्डे, रमण नेपाल र विनोदकाजी श्रेष्ठसहितका १२ जनाले आवेदन दिएका हुन् ।
आवेदन दिएकाहरूमध्ये रेग्मी बीमा प्राधिकरणकै कार्यकारी निर्देशक रहेका छन् भने चापागाईँ प्राधिकरणका पूर्वअध्यक्ष रहेका छन् । यसैगरी मिश्र निक्षेप तथा कर्जा सुरक्षणका पूर्वप्रमुख कार्यकारी हुन् भने पुडासैनी पूर्वराजस्व सचिव हुन् । पौडेल नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक हुन् भने बसौला स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक हुन् । यसैगरी नेपाल नागरिक लगानी कोषका पूर्वकार्यकारी निर्देशक हुन् ।
समितिले गत पुस २६ गते १५ दिनको समयावधि तोकेर अध्यक्ष पदको लागि आवेदन माग गरेको थियो । तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै प्राधिकरणमा अध्यक्षविहीन भएको छ ।