भैरहवा । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिका सभापति सन्तोष चालिसेले भन्सार विधेयक संशोधनको तयारी भइरहेको जानकारी दिएका छन् ।
शनिबार चेम्बर अफ कमर्श, लुम्बिनी प्रदेशले भैरहवामा आयोजना गरेको खुला सीमा र यसले पारेको असर विषयक अन्तरक्रियामा उनले भन्सार विधयेकलाई सबैको स्वीकार्य हुने गरी बनाउनका लागि समितिले देशभरिका भन्सार नाकाको अवलोकन गरिरहेको बताएका छन् । ‘व्यवसायीलाई कसरी सुरक्षित बनाउने, चोरी निकासी रोक्ने र निर्यातका लागि सहज बनाउने गरी कानुन बनाउनेछौँ’, उनले भने ।
अन्तरक्रियामा व्यवसायीले अहिले व्यवसायीहरू पलायन हुने अवस्था आएको जिकिर गर्दै समस्या समाधानका लागि भन्सार विधेयक संशोधन हुनुपर्नेमा जोड दिएका छन् । उद्योगका लागि कच्चा पदार्थ आयात, वस्तु उत्पादन र तयारी माल वस्तुको आयातमा भिन्नता नभएकाले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धाका लागि कठिन भएको उल्लेख गर्दै व्यवसायीहरूले भन्सार महसुलमा पुनरावलोकन गर्न आग्रह
गरेका थिए ।
छलफलका क्रममा रहेको भन्सार विधेयकमा वैधानिक कारोबार गर्नेलाई बढी जरिबाना र अवैध कारोबार गर्नेलाई कम जरिबानाको व्यवस्था रहेको विषयमा पनि पुनरावलोकन आवश्यक रहेको उनीहरुले बताएका । यसबाहेक खुला सीमाका कारण मानव बेचविखन, सीमापार अपराधलगायतको चुनौती पनि बढ्दै गएको कारण यसलाई नियन्त्रण गर्न सक्नेगरी कानुन ल्याउनुपर्नेमा उनीहरुले जोड दिए थियो ।
चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टङ्कप्रसाद पोखरेलले खुला सीमा कारण सीमावर्ती बजार मात्र नभई लुम्बिनी प्रदेशका पहाडी जिल्ला एवं अन्य मुख्य सहरमा पनि अवैध तरिकाले भित्रिएका वस्तुहरूको बिगबिगी बढेको बताए । उनले समस्या समाधान हुनेगरी कानुन निर्माणमा जोड दिए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले प्रहरीले अवैध वस्तुहरू बरामद गर्दा ओसारप्रसारमा संलग्न तथा मुख्य कारोबारीहरू प्रहरी नियन्त्रणमा आउन नसकेको गुनासो गरे । उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका कार्यकारी सचिव आनन्द खनालले नेपालमा आवश्यकभन्दा बढी भन्सार कार्यालय रहेकाले व्यवस्थापनमा समस्या भएको बताए ।
लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले अहिले बाहिर चर्चामा आएजस्तो चोरी तस्करीको अवस्था नरहे पनि तस्करी नियन्त्रण चुनौतीपूर्ण रहेको बताए । उनले खुला सीमाका कारण मानव बेचबिखन तथा अपराध गरेर दुवै देशमा लुक्नेलगायतको समस्या रहेको बताए ।
अर्थ समिति सदस्य सूर्यबहादुर थापा क्षेत्रीले अहिलेको अवस्था बदल्ने र भन्सार प्रशासनलाई प्रक्रियायत झण्झटबाट मुक्त गरी सरलीकृत बनाउने गरी कानुन निर्माण गरिने बताए । उनले कानुन संशोधन स्थलगत रूपमा छलफल आवश्यक भएकाले आफूहरू अवलोकनका क्रममा रहेको बताए । त्यसअवसरमा अर्थसमितिका सदस्य अन्जनी श्रेष्ठ, गङ्गा कार्की, रणकुमारी बलमपाकी मगर, छिरिङ डोल्मा लामा, नारायणप्रसाद आचार्य, पदम गिरीलगायतको उपस्थिति थियो । रासस