काठमाडौं । अत्याधुनिक प्रयोगशाला नेसनल प्याथ ल्याबले आफ्नो १२औँ शाखा ‘सेन्टर फर साइटोजेनेटिक्स एन्ड मोलिक्युलर प्याथोलोजी’ ललितपुरमा सञ्चालनमा ल्याएको छ । लगनखेलस्थित कर्मचारी सञ्चय कोषको भवनमा स्थापना गरिएको प्रयोगशालामा सामान्य जाँचदेखि विशेष प्रकारका जेनेटिक जाँचहरू अत्याधुनिक उपकरण र दक्ष प्राविधिकबाट हुनेछ ।
शाखाको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा चोपलाल भुसालले गरेको कम्पनीले जनाएको छ । ललितपुर शाखा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा मोलिक्युलर, जेनेटिक्स र साइटोजेनेटिक्ससम्बन्धी परीक्षण गर्ने प्रयोगशालामा सूचीकृत रहेको छ । यो शाखामार्फत नेपालमा पहिलो पटक एकै छानामुनि नेक्स्ट–जेनेरेसन सिक्वेन्सिङ, साइटोजेनेटिक्स र एफआईएसएच, नवजात शिशु परीक्षणलगायतका सेवा उपलब्ध हुनेछन् ।
शाखा कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले नेसनल प्याथ ल्याबले सञ्चालनमा ल्याएका सेवाबाट आम सर्वसाधारणले सुपथ मूल्यमा सेवा लिन पाउने विश्वास व्यक्त गरे । सरकारी संस्थाहरूमा नहुने परीक्षणहरूलाई निजी क्षेत्रबाट सञ्चालित ल्याबसँगको सहकार्यमा परीक्षण गर्ने व्यवस्था मिलाउन आफूले सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रममा नेसनल प्याथ ल्याबका प्रबन्ध निर्देशक पवन जोशीले प्रयोगशाला देशकै अनुवांशिक अनुसन्धान स्रोत केन्द्रका रूपमा विकास हुने विश्वास व्यक्त गरे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले स्वदेशमै विशिष्टीकृत परीक्षण सेवाहरू प्रदान गरिरहेका निजी प्रयोगशालाहरूसँग सार्वजनिक निजी साझेदारी गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा अनिलविक्रम कार्कीले प्रयोगशाला परीक्षण नेपाल बाहिर पठाउँदा अनेक किसिमका समस्या, जस्तै नमुनाको गुणस्तर सुनिश्चितता, चिकित्सक र प्रयोगशालाको समन्वय नहुने भएकोले ती परीक्षणहरू स्वदेशमै उपलब्ध भएको हुँदा धेरै सजिलो भएको बताए ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा चोपलाल भुषालले नेपालमा प्रविधियुक्त गुणस्तरीय प्रयोगशाला भएकाले लाभ लिन सम्पूर्ण सरोकारवालाहरूलाई आह्वान गरे । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा भोला रिजालले अहिलेको आवश्यकताअनुसार ठूलो जोखिम मोलेर उच्चस्तरको प्रयोगशाला सञ्चालन गरेकोमा शुभकामना व्यक्त गरे । संस्थाका अध्यक्ष रुद्रबहादुर कार्कीले गुणस्तरीय सेवा प्रदान गर्नका लागि ललितपुरमा प्रयोगशाला सञ्चालनमा ल्याइएको धारणा व्यक्त गरे ।