काठमाडौं । नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने भएको छ ।
नेपालको उद्यमशीलता क्षेत्रमा नयाँ ऊर्जा भर्ने तथा मुलुकको आर्थिक रुपान्तरणमा योगदान पुर्याउने उद्देश्यले सो सम्मेलन गर्न लागिएको हो । शनिबार पत्रकार सम्मेलन गरी यही माघ १६ र १७ गते कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सो सम्मेलन गर्न लागिएको विभागकी प्रमुख उर्मिला थपलियाले जानकारी दिइन् । उनका अनुसार सम्मेलनमा ८० भन्दा बढी स्टार्टअप र एसएमईहरूको प्रदर्शनी हुनेछ । नवप्रवर्तन र सेवाहरूको अवलोकन गर्दै सहभागीहरूले नयाँ व्यावसायिक सम्भावनाहरू पत्ता लगाउने अवसर पाउने उनले बताइन् । सम्मेलनमा छ हजारभन्दा बढी युवा उद्यमीहरू, नीति निर्माता, उद्योगपति, लगानीकर्ता तथा प्राविधिकहरू तथा विज्ञहरूको सहभागिता रहनेछ । यस्तै, नवप्रवर्तन र उद्यमशीलता, कृषि उद्यमशीलता, सूचना प्रविधि विकास, महिला उद्यमशीलता र प्रेरणादायी उद्यमशीलता यात्राबारे विशेष विषयगत छलफल समेत हुने जनाइएको छ ।
सम्मेलनले नवप्रवर्तन र उद्यमशीलतामार्फत आर्थिक रुपान्तरण, स्टार्टअप र एमएमईहरूमा लगानीका अवसर र चुनौती, डिजिटल अर्थतन्त्र र आईटी क्षेत्रको विकासका सम्भावना, महिला र युवाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने र नेपाली कांग्रेसलाई युवामैत्री र उद्यमशीलतामा अग्रसर बनाउने उद्देश्य लिएको छ । यो सम्मेलनले नेपालको स्टार्टअप र एमएमईहरूको प्रवद्र्धन र उद्यमशीलताको वातावरण निर्माणका लागि विशेष भूमिका खेल्ने विभागकी प्रमुख थपालियाले बताइन् । कार्यक्रममा हुने छलफल र सुझावहरूले व्यावसायिक नीति सुधार र लगानीको वातावरण बनाउन ठोस मार्गनिर्देशन गर्ने उनको भनाइ छ । सो सम्मेलनको उद्घाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नेछन् भने कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, सांसद, स्थानीय तथा प्रदेश सरकारका नेतृत्व, उद्योग र उद्यमशीलता क्षेत्रमा क्रियाशील व्यक्तिहरूको उपस्थिति रहनेछ ।