महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शैक्षिक विकासका लागि समयअनुसार परिवर्तनको आवश्यकता रहेको बताएका छन् ।
जनकपुरधाममा आइतबार प्रधानाध्यापक सङ्घ नेपालद्वारा आयोजित प्रधानाध्यापकसँग मुख्यमन्त्री संवाद शिक्षा सुधार र भविष्यको दृष्टिकोण कार्यक्रममा मुख्यमन्त्री सिंहले प्रदेशको शिक्षाको स्तर निकै खस्केको चर्चा गर्दै देशका सात वटा जिल्ला साक्षर हुन नसकेकामा दुखेसो गरे ।
“अहिले विद्यालयमा परम्परागत आधारमा शिक्षा दिइँदै आएको छ, त्यसलाई आधुनिकताका आधारमा परिवर्तन गर्न जरुरी छ”, उनले रासससँग भने । आधुनिक शिक्षा कसरी कार्यान्वयनमा ल्याउने र वर्तमान शिक्षा नीति तथा शैलीमा कसरी परिवर्तन ल्याएर प्रदेशलाई साक्षर बनाउनेमा बहस गर्न जरुरी रहेकामा मुख्यमन्त्री सिंहले जोड दिए ।
उनले प्रदेशको मातहतमा शिक्षा नभएका कारणसमेत शैक्षिक गुणस्तरमा कमी रहेको बताए । उनले भने, “प्रदेशलाई उच्च शिक्षाको अधिकार दिइएको छ, तर यहाँ स्थानीय तहमार्फत रहेका शिशुदेखि कक्षा १२ सम्मकै अवस्था कमजोर छ, जबसम्म ती कक्षाको शैक्षिक अवस्थामा सुधार आएन भने उच्च शिक्षाको कुनै अर्थ रहँदैन, त्यसका लागि हामीले सङ्घ सरकारसँग पटकपटक स्थानीय तह मातहत रहेका कक्षा १२ सम्मको शैक्षिक अधिकार दिन माग गर्दै आएका छौँ ।”
अन्य राष्ट्रमा शिक्षालाई पहिलो प्राथमिकतामा राखिएको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले नेपालमा शिक्षालाई बेवास्ता गर्दै आएका कारण पनि शैक्षिक अवस्था कमजोर रहेको बताए । “हाम्रो यहाँ विद्यालयमा केही परिवर्तनको आवश्यकता रहेको छ, सबैभन्दा पहिला विद्यालय व्यवस्थापन समिति हटाउनुपर्ने आवश्यकता छ”, उनले भने । उनले व्यवस्थापन समितिका कारण हुने गरेको राजनीतिले नै गर्दा शैक्षिक गुणस्तरीयता खस्केकोसमेत बताए ।
उनी भन्छन्, “शिक्षक भर्नामा सुधार, शिक्षकको तलब मासिक रुपमा उपलब्ध गराउनुपर्ने र परम्परागतभन्दा आधुनिक प्राविधिक शिक्षामा जोड दिनुपर्छ, अनिमात्रै शिक्षामा सुधार आउनसक्छ, यसमा हामी सबैले बहस गर्न जरुरी छ ।”