बुटवल । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रुपन्देही जिल्ला अदालतमा एक करोड रुपैयाँ बैंक जमानत बुझाएर छुटेका छन् । लामिछानेसँग अदालतले सुप्रिम सहकारी ठगी मुद्दामा एक करोड रुपैयाँ धरौटी मागेको हो ।
साथै अदालतले लामिछानेको सम्पत्ति रोक्का राख्न आदेश पनि दिएको छ । आदेशमा भनिएको छ, ‘अभियोग पत्रमा उल्लिखित प्रतिवादीहरुको नाममा रहेको सम्पत्ति मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ को नियम ९२ बमोजिम कुनै बेहोराले हक हस्तान्तरण गर्न नपाउने गरी यथास्थितिमा रोक्का राखी सोको जवाफ पठाउनू भनी सम्बन्धित मालपोत कार्यालयहरुलाई लेखी पठाउनू ।’
जिल्ला सरकारी वकिल कार्यालयले माघ ६ गते रुपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी र संगठित अपराधमा लामिछानेसहित २२ जनालाई अभियुक्त बनाएर मुद्दा दर्ता गरेको थियो ।
लामिछाने यसअघि कास्की जिल्ला अदालतबाट पुस २५ गते ६५ लाख धरौटीमा र माघ २ गते काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका थिए ।