काठमाडौं । नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । आइतबार प्राधिकरणको केन्द्रीय कार्यालयमा ‘वित्तीय क्रियाकलापमा पारदर्शिता, सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिबद्धता’ भन्ने नाराका साथ कार्यक्रम मनाइएको हो ।
‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’को पूर्वसन्ध्यामा आयोजित सो कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले सम्पत्ति शुद्धीकरण निवारण गर्ने राष्ट्रिय दायित्व बीमा क्षेत्रको पनि भएको बताए । अध्यक्ष दाहालले जिम्मेवारीपूर्वक काम गर्न बीमा कम्पनीलाई निर्देशन दिए । बीमा क्षेत्रमा हुन सक्ने सम्पत्ति शुद्धीकरण निवारणका लागि नेपाल बीमा प्राधिकरणमा छुट्टै शाखा स्थापना गरिएको र बीमा कम्पनीहरूलाई समेत यससम्बन्धी कार्य गर्ने गरी छुट्टै शाखा स्थापना गर्न निर्देशन दिइएको उनले उल्लेख गरे ।
अध्यक्ष दाहालले बीमा कम्पनीहरूलाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिमलगायत आवश्यक प्राविधिक सहयोग गर्न प्राधिकरण तयार रहेको बताए । कार्यक्रममा डा हरि कुमार नेपालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी समग्र विषयमा प्रस्तुति गरेका थिए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मी तथा उपनिर्देशक पदम प्रसाद सोडारी र जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका कार्यान्वयन अधिकारीहरूको सहभागिता रहेको थियो ।