पोखरा (कास्की) । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कास्की जिल्ला प्रशासन कार्यालयमा सोमबार आफ्नो राष्ट्रिय परिचयपत्र लिदै राष्ट्रिय परिचयपत्र वितरणको कामलाई सहज बनाइने बताएका छन् । उनले पत्रकारसँग कुरा गर्दै सबै नागरिकको हातमा परिचयपत्र पुर्याउन सरकार प्रतिवद्ध रहेको बताए ।
‘परिचयपत्र वितरणमा ढिलाइ भएको गुनासो आएको छ’ उनले भने, ‘गुनासोलाई सम्बोधन गर्नेगरी सकारले काम अघि बढाएको छ ।’ मुलुकको सुरक्षा व्यवस्थालाई चुस्त बनाउन र नेपाली नागरिकताको प्रमाणपत्रको कमि कमजोरीलाई हटाउन राष्ट्रिय परिचयपत्र वितरणलाई प्रभावकारी बनाइएको उनले बताए ।
जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसँगको समन्वयमा परिचयपत्र वितरणलाई सहज बनाइने बताउदै उनले अन्तर्राष्ट्रिय मापदण्डको डिजिटल कार्डको रुपमा प्रयोग गर्न सकिने परिचयपत्रमा बाहकको दश औंठा छाप अङ्कित व्यक्तिको पहिचान समेटिएको जानकारी गराए ।
कास्कीमा परिचयपत्र वितरणका लागि अभियान चलाइएको बताउदै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले कास्कीमा अहिलेसम्म २ लाख ७ सय १६ वटा राष्ट्रिय परिचयपत्रको कार्ड प्राप्त भएको र ७५ हजार ७ सय १८ वटा कार्ड वितरण भएको बताए ।
पाण्डेले पालिकाबाट नै परिचयपत्रको विवरण भर्ने र कार्ड वितरण गर्ने व्यवस्था मिलाउँदा जनतालाई सहज हुने बताए । उनका अनुसार सरकारले सबै प्रकारका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिसकेको छ । सार्वजनिक सेवाभित्र सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बीमा र निवृत्तिभरण सुविधा छन् ।