काठमाडौं । नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमान्डुले औपचारिकरूपमा बुटवलमा आफ्नो सेवाको सुरुवात गरेको छ । बुटवलको डि क्राउन इनमा बुधबार आयोजित उद्घाटन कार्यक्रममा यसको घोषणा गरिएको हो ।
काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा र चितवनमा आफ्नो सेवा विस्तार गरिसकेको फुडमान्डुले एक हजारभन्दा बढी रेस्टुरेन्टहरूसँग साझेदारी गर्दै तीन लाखभन्दा बढी ग्राहकलाई सेवा पुर्याउँदै आएको छ । कम्पनीले हालै ‘वानमार्ट’ नामक नयाँ सेवाको पनि सुरुवात गरेको छ, यसले किराना तथा अन्य उपभोग्य वस्तुहरूको तुरुन्त डेलिभरी गर्छ । कार्यक्रममा फुडमान्डुकी ब्रान्ड र मार्केटिङ म्यानेजर इनेशा भट्टराईले फुडमान्डुलाई बुटवलमा पनि ल्याउन पाउँदा उत्साहित भएको बताइन् । अब बुटवलवासीहरूले आफूलाई मनपर्ने रेस्टुरेन्टबाट केही क्लिकमै खाना अर्डर गर्न सक्नेछन् ।
त्यसैगरी कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले बुटवलमा फुडमान्डुको सेवा विस्तार गर्नु हाम्रो लागि एक महत्वपूर्ण उपलब्धि भएको बताए । फुडमान्डुले बुटवलमा २५ भन्दा बढी रेस्टुरेन्टहरूसँग साझेदारी गरिसकेको छ । यी रेस्टुरेन्टहरूमार्फत बुटवल, तिलोत्तमा, कोटिहवा, फूलबारी, पिप्रैया, सैनामैना र वरपरका क्षेत्रमा सहज खाना डेलिभरीको व्यवस्था गरिएको छ । रेस्टुरेन्टको नेटवर्क विस्तार गर्ने योजनाअनुसार बुटवलवासीहरूले अब विविध स्वादका खानाहरू घरमै अर्डर गरी आनन्द लिन सक्नेछन् ।