काठमाडौं । कास्की जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाउँ भनी रास्वपा सभापति रवि लामिछाने उच्च अदालत पुगेका छन् । अहिले उच्च अदालत पोखरामा दर्ताको प्रक्रिया चलिरहेको रास्वपाले जानकारी गराएको छ ।
फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम पुस २५ गते कास्की जिल्ला अदालतले थुनछेक सम्बन्धी मुद्दाको सुनुवाइको आदेशमा धरौटी माग गरेको थियो । उनलाई ६५ लाख धरौटीमा कास्की जिल्ला अदालतले रिहा गर्ने आदेश दिएको थियो ।
सो आदेशको चित्त नबुझी लामिछाने साधारण तारेखमा बसेर मुद्दा पुर्पक्ष गरी पाउँ भनी उच्च अदालत पोखरामा पुगेका हुन् । जिल्ला अदालत रुपन्देहीले उनीविरुद्ध आइतबार मात्रै एक करोड धरौटी माग गरेको थियो ।