अमेरिका, साउन ५
वाल्ट डिस्नेले पनि फेसबुकसँगको विज्ञापन सम्बन्ध तोड्ने भएको छ । फेसबुकले घृणा फैलाउने भनाइ र विवादास्पद विषयवस्तुको नियन्त्रण नगरेको भन्दै धेरै कम्पनीले फेसबुकबाट विज्ञापन हटाइरहेका बेला डिस्नेले पनि यस्तो निर्णय गरेको हो ।
वालस्ट्रिट जर्नलका अनुसार डिस्नेसँगै स्टारबक्स कर्प, युनिलिभर, एडिडास एजी र अन्य धेरै चर्चित कम्पनीले फेसबुकबाट विज्ञापन हटाएका छन् । डिस्नेले कहिलेदेखि फेसबुकबाट विज्ञापन हटाउने भन्ने नखुलाएको बताइएको छ । डिस्नेले प्रचारविना नै सुटुक्क यस्तो निर्णय गरेको रोयटर्सले जनाएको छ । कम्पनीले आफ्नो भिडियो सर्भिस डिस्नेप्लसकाचे विज्ञापन पनि रोकिसकेको छ । त्यस्तै फेसबुककै स्वामित्व रहेको इन्स्टाग्राममा पनि विज्ञापन रोकेको बताइएको छ । अर्को हुलु भन्ने स्ट्रिमिङ कम्पनीमा पनि कम्पनीले विज्ञापन रोकेको छ ।
फेसबुकले भने कम्पनीहरुले विज्ञापन रोके पनि आफ्नो नियम परिवर्तन गरेको छैन । केही समयअघि प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक मार्क जुकरबर्गले कम्पनीहरु फेरि फेसबुकमै आउने दृढता व्यक्त गरेका थिए ।