काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाको थाइल्याण्डमा उपचार भइरहेको पाइएको छ । स्वास्थ्यमा समस्या देखिएपछि आफ्ना विश्वासिला चिकित्सकहरूको सुझावमा गत माघ ५ गते थाइल्याण्ड गएकी राणाको त्यसयता उपचार भइरहेको हो ।
सरकारमा परराष्ट्र मन्त्रालयजस्तो महत्तपूर्ण मन्त्रालयको मन्त्री समेत रहेकी कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी राणा उपचारको लागि थाइल्याण्ड गएको खबर भने सरकारले हालसम्म लुकाएर राखेको छ ।
विदेश भ्रमणमा जाँदा कार्यवाहकको जिम्मेवारी दिने चलनलाई समेत बिर्सिएर उपचारको लागि थाइल्याण्ड गएकी परराष्ट्र मन्त्री राणालाई के भएको हो र के को उपचार गरिँदै हो भन्ने कुरा सरकारले सार्वजनिक गरेको छैन ।
नागरिकलाई आफ्नो मन्त्रीलाई के भएको हो भन्ने सुसूचित हुने अधिकारबाट समेत वञ्चित गरेर सरकारले गुमनाम पारेको छ ।
केही दिनअघि बसेको कांग्रेसको पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीहरू सम्मिलित बैठकमा मन्त्री राणा अनुपस्थित भएपछि उनको सोधिखोजी भएको थियो । सोही क्रममा उनी उपचारको लागि गुपचुप थाइल्याण्ड गएको खुलेको हो ।