काठमाडौं । सूर्यविनायक नगरपालिका ३ भक्तपुर गणेश आधारभूत विद्यालयसँगैको मार्गलाई समाजसेवी मीनकुमारी राणामार्गको नामाकरण गरिएको छ । मीनकुमारी राणा प्रतिष्ठानले स्व. राणाको तेस्रो पुण्यतिथिका अवसरमा आयोजित कार्यक्रममा नामाकरणसहित उनको प्रतिमा समेत अनावरण गरिएको हो ।
नेपाली काँग्रेसका महामन्त्री गगन थापा र सो क्षेत्रका सांसद दुर्लभ थापाले प्रतिमा अनावरण गरेका थिए । साथै, कार्यक्रममा तीन जना विशिष्ट व्यक्तित्वहरूलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा नगद ५१ हजार एक रूपैयाँ राशिको प्रजातन्त्र सेनानी पुरस्कारबाट तिलकप्रकाश कायस्थ, त्यति नै राशिको वरिष्ठ पत्रकार पुरस्कारबाट श्री आचार्य र वरिष्ठ खेलाडी एवं प्रशिक्षक पुरस्कारबाट प्रचण्ड शर्मालाई पुरस्कृत गरिएको हो । कार्यक्रममा भक्तपुर सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयका जेहनदार विद्यार्थीलाई प्रदान गर्ने गरी ५१ हजार एक रूपैयाँको छात्रवृत्ति समेत हस्तान्तरण गरिएको थियो । कार्यक्रमका महामन्त्री थापाले स्व. मीनकुमारी राणाको जीवन र योगदानको उच्च प्रशंसा गरेका थिए । उनले राणाको लोकतन्त्र र समाजसेवामा समर्पित जीवन नयाँ पुस्ताका लागि प्रेरणादायी रहेको उल्लेख गरे ।
कार्यक्रमका सांसद दुर्लभ थापाले स्व. मीनकुमारी राणालाई एक कुशल, संस्कारयुक्त, र राजनीतिक दृष्टिकोण सम्पन्न व्यक्तित्वका रूपमा स्मरण गरे । कांग्रेस केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले मीनकुमारी राणाको बानी व्यवहारले सधैं आफूहरूलाई ऊर्जा मिल्ने गरेको स्मरण गरे । प्रतिष्ठानका सल्लाहकार तथा पत्रकार हरिहर विरहीले राणाको परिवार व्यवस्थापन र लोकतान्त्रिक आन्दोलनमा देखाएको नेतृत्वको प्रशंसा गर्दै वर्तमान लोकतान्त्रिक दलहरू विचलित भइरहेकोप्रति चिन्ता व्यक्त गरे ।
कार्यक्रमका लागि पाँच सदस्यीय पुरस्कार छनोट समिति गठन गरिएको थियो । समितिमा प्रतिष्ठानका अध्यक्ष कबिर राणा, वरिष्ठ साहित्यकार डा.ध्रुवचन्द्र गौतम, वरिष्ठ पत्रकार हरिहर विरही, प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत, र महासचिव रवि राणा सदस्य रहेका थिए । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष कबिर राणाले स्व मीनकुमारी राणाको योगदान स्मरण गर्दै आमाको पुण्यतिथिमा यसरी कार्यक्रम गर्दै आउनु परिवारको दायित्व रहेको बताए । महासचिव रवि राणाले कार्यक्रमका अतिथिहरूलाई स्वागत गर्दै आमाको योगदानको स्मरण गरे । प्रतिष्ठानले स्व राणाको योगदानलाई चिरस्थायी राख्न हरेक वर्ष यस प्रकारका प्रेरणादायी कार्यक्रमको आयोजना गर्दै आएको छ । आगामी वर्ष पनि यसले निरन्तरता पाउने प्रतिष्ठानका अध्यक्ष कविर राणाले जानकारी दिए ।