तेल अविव । इजरायलले १५ महिनापछि हजारौँ प्यालेस्टिनीहरूलाई गाजाको उत्तरी क्षेत्रमा फर्कन अनुमति दिएको छ । त्यसयता हजारौँ मानिस घर फर्किन थालेका छन् ।
युद्धविराम सम्झौताअन्तर्गत, इजरायलले जनवरी २५ देखि प्यालेस्टाइनीहरूलाई उत्तरी गाजामा फर्कन अनुमति दिने निर्णय गरेको थियो । तर, इजरायल र हमासबीचको विवादका कारण दुई दिन ढिलाइ भएको थियो । वास्तवमा, इजरायलले हमासले अन्तिम समयमा बन्धकहरूलाई रिहा नगरेको आरोप लगाएको छ ।
हजारौँ प्यालेस्टाइनीहरू केही दिनदेखि सीमा पार गर्न पर्खिरहेका थिए । इजरायलको स्वीकृति प्राप्त हुनेबित्तिकै हजारौँ मानिसहरू नेत्जारिक करिडोर हुँदै गाजाको उत्तरी भागतर्फ जान थाले ।
हमासयुद्ध सुरु भएपछि इजरायलले गाजाको उत्तरी भाग खाली गरेको थियो । यसपछि १० लाखभन्दा बढी मानिस उत्तरी गाजाबाट दक्षिणी गाजामा बसाइँ सरेका थिए । त्यसपछि इजरायली सेनाले त्यहाँ हमला गरी उक्त क्षेत्रलाई सिल गरेको थियो ।