ढल्केबर। काठमाडौंबाट जनकपुरतर्फ आउँदै गरेको यात्रीबाहक बसमा मङ्गलबार बिहान एक जना पुरुषको शव फेला परेको छ । प्रहरीले एक भारतीय नागरिकको मधेश प्र ०४ ००१ ख ०१५७ नम्बरको बसमा शव फेला परेको जनाएको छ ।
मृतक भारतको मधुवनी जिल्ला सिम्री टोल निवासी अन्दाजी ७० वर्षीय जगदीश यादव रहेको इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाका प्रहरी निरीक्षक जटाशङ्कर यादवले जानकारी दिए । उनका अनुसार सोमबार साँझ काठमाडौंबाट जटही जानका लागि बसमा चढेका यादव लालगढमा यात्रीहरु शौचालयका लागि आर्लिएको समयमा मृत अवस्थामा भेटिएका थिए ।
प्रहरी निरीक्षक यादवले तत्काल मृत्युका कारण हालसम्म खुल्न नसकेको बताउँदै शव परीक्षणपछि मात्रै मृत्युको वास्तविक कारण थाहा हुने बताए । हाल इलाका प्रहरी कार्यालय ढल्केबरले बसलाई नियन्त्रणमा लिएको र यस विषयमा थप अनुसन्धान जारी रहेको उनले बताए ।