भक्तपुर । टङ्कप्रसाद आचार्य प्रतिष्ठानको भाडाको घरबाट प्रशासनिक कार्यालय सञ्चालन गर्दै आएको सूर्यविनायक नगरपालिकाले मंगलबारदेखि आफ्नै नयाँ भवनबाट प्रशासनिक सेवा सुरु गरेको नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिए ।
उनले भने, “नगर प्रमुख, उपप्रमुखको कार्यकक्ष र अन्य महत्वपूर्ण शाखाहरु नयाँ भवनमा सारेर सेवा सुरु भएको छ । भोलि र पर्सिको सार्वजनिक बिदामा सबै शाखाहरु सारेर नयाँ भवनबाटै सेवा सञ्चालन हुन्छ ।”
प्रवक्ता सापकोटाका अनुसार नयाँ भवनमा ९२ वटा कार्यकक्ष, स्तनपान कक्ष, अपाङ्गमैत्री, पाँच सय सवारी साधन अट्ने दुई तल्लाको बेसमेन्ट पार्किङ, आठजना क्षमता रहेको दुईवटा लिफ्ट, तीन सयजना अट्ने सेमिनार हल, दुईवटा वैठक कक्ष, एउटा पुस्तकालय र एउटा तालिम कक्ष रहेको छ ।
२०७४ सालमा पहिलो पटक नगर प्रमुखको पदबहाली गर्दा दुई कोठा र दुईजना सरकारी दरबन्दीका कर्मचारी लिएर कार्यालय सञ्चालन गरेको नगरपालिकाले आज आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा सुरु गरेको नगर प्रमुख वासुदेव थापाले बताए ।
मासिक एक लाख २० हजार भाडा तिर्दै आएको नगरपालिकाले ६ रोपनी ११ आना दुई पैसा तीन दाम क्षेत्रफलमा उक्त भवन २० करोड ४१ लाख ५२ हजारमा निर्माण गरेको हो । नगरपालिकाले सङ्घीय सरकारको दुई करोड, जिल्ला समन्वय समितिको ७५ लाख र बाँकी आफ्नै लगानीबाट भवन निर्माण गरेको जनाएको छ । नगरपालिकाले आगामी ०८३ जेठ मसान्तभित्र बालमैत्री नगरपालिका घोषणा गर्ने तयारी गरेको छ ।