काठमाडौं । लक्ष्मी सनराइज बैंकको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरू र रेमिट हाइड्रो लिमिटेडबीच सो कम्पनीले ताप्लेजुङ जिल्लास्थित घुन्सा नदीमा निमार्ण गर्ने ७७ दशमलव पाँच मेवा क्षमताको घुन्सा खोला जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । सो आयोजनाको कुल लागत १८ अर्ब १३ करोड रुपैयाँ रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्नेछ ।
घुन्सा खोला जलविद्युत् आयोजनाले ८ श्रावण २०७९ मा विद्युत् विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत् उत्पादनको अनुमति पत्र लिनुका साथै २१ वैशाख २०८१ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको मुख्य प्रवर्द्धकको रूपमा नेपाल विद्युत् प्राधिकरण, हाइड्रो इलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र विद्युत् उत्पादन कम्पनी लिको संयुक्त लगानी ५१ प्रतिशत हुनेछ ।
सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले परियोजना लागतको ७० प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् भने बाँकी ३० प्रतिशत रकम सो कम्पनीका संस्थापक तथा साधारण प्रवद्र्धकबाट लगानी रहने छ । लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता पाँच अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंक तथा वित्तीय संस्थामध्ये हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको तीन अर्ब, नागरिक लगानी कोषको दुई अर्ब, माछापुच्छे« बैंकको एक अर्ब ४४ करोड र एभरेस्ट बैंकको एक अर्ब २५ करोड समेत गरी जम्मा १२ अर्ब ६९ करोड ४० लाख रहेको छ ।
सो आयोजना डिसेम्बर २०३० भित्र निर्माण सम्पन्न भई विद्युत् उत्पादन भएपश्चात वार्षिक करिब चार सय ६२ दशमलव २८ गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुँदा यो नेपाल सरकारको जनताको जलविद्युत् कार्यक्रम–नेपालको पानी जनताको लगानी जलविद्युत् आयोजनामा थप टेवा पुग्ने विश्वास लिइएको छ ।