काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इजरायलबीच सूचना प्रविधिलगायतका क्षेत्रमा लगानीका लागि सहकार्य गर्ने सहमति भएको छ । इजरायलमा शान्ति स्थापना भएसँगै सूचना प्रविधि, कृषि, पर्यटन एवं हस्पिटालिटीलगायतका क्षेत्रमा रोजगारीका लागि सहकार्य गर्ने सहमति भएको हो ।
चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बासबीच मंगलबार यसअघि भएका सहकार्यलाई निरन्तरता दिएर नेपालमा थप लगानी विस्तार गर्नेसम्बन्धी सहमति भएको हो । इजरायलको कृषि, सूचना प्रविधि नेपालमा भित्र्याउने बारेमा अध्यक्ष अग्रवालले राजदूत बाससँग आग्रह गरे । इजरायलमा भर्खरै युद्धविराम भई शान्ति स्थापना भएको उल्लेख गर्दै उनले सरकारको पढ्दै कमाउँदै कृषि कार्यक्रम, घरेलु कामदारमा इजरायलमा जाने नेपालीलाई निरन्तरता दिन एवं हस्पिटालिटी निर्माण क्षेत्रमा समेत नेपाली कामदारहरूलाई रोजगारी दिन आग्रह गरे ।
नेपालको जलविद्युत्, पर्यटन, होटललगायतका क्षेत्रमा इजरायलको लगानीका लागि समेत उनले आग्रह गरे । नेपालमा हालै संशोधन गर्न लागिएका कानुनहरूले लगानीको वातावरण सहज भएकाले नेपाल चेम्बर र इजरायलका व्यवसायीहरूबीच बी टु बी माध्यमबाट लगानीका अवसरहरू खोज्नुपर्ने उनको भनाइ छ । चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले इजरायल र नेपालबीच आईटी क्षेत्रमा लगानीको वातावरण बनाउनुपर्ने बताए । उनले अन्य देशको तुलनामा नेपालको सूचना प्रविधिजन्य व्यवसायमा जनशक्ति सस्तो र भौगोलिक दृष्टिकोणले उपयुक्त भएको बताए ।
चेम्बर पदाधिकारीसँगको भेटका क्रममा राजदूत बासले नेपालजस्तो देशमा सहकार्य गर्न पाउँदा आफू निकै खुसी भएको बताए । इजरायल सरकार नेपालसँग घरेलु कामदार, कृषिसँगै अन्य क्षेत्रको श्रमिक लैजानका लागि पनि सम्झौता गर्न तयार रहेको उनले जानकारी दिए । इजरायलको न्यूनतम ज्याला नै १६ सय अमेरिकी डलर रहेकाले त्यसको लाभ नेपालले लिनुपर्ने उनको भनाइ छ । दुवै देशका लगानीकर्ताबीच भेटघाट र छलफलका लागि सहजीकरण गर्ने राजदूत बासले बताए ।