काठमाडौं । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा फोटो तथा बृहत् प्रदर्शनी सुरु भएको छ । सो प्रर्दशनीको मंगलबार एक कार्यक्रमका बीच प्रधान सेनापति अशोक राज सिग्देलले शुभारम्भ गरेका हुन् ।
सेना दिवस २०८१ को अवसरमा नेपाली सेनासम्बन्धी गतिविधिहरू झल्कने फोटो, हातहतियार, पोसाक, उपकरणहरू र सम्बद्ध सैनिक सामग्रीहरूको प्रदर्शनी गरिएको हो । आम नागरिकलाई नेपाली सेनाबारे विविध विषयहरूमा जानकारी प्रदान गर्ने उद्देश्यले फोटो तथा बृहत् प्रदर्शनी आयोजना गरेको नेपाली सेनाले जनाएको छ । प्रदर्शनीको अवसरमा नेपाली सेना फोटो प्रतियोगिता समेत संचालन गरिएको थियो । कार्यक्रममा प्रधान सेनापति सिग्देलले फोटो प्रतियोगिताका उत्कृष्ट तीन जना गैरसैनिक फोटोग्राफरहरू, तीन वटा नेपाली सेनाका युनिटहरू र एक जना श्री जनसम्पर्क तथा सूचना निर्देशनालयका फोटोग्राफरलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । साथै, मूल्यांकन समितिका सदस्यहरूलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रमपश्चात प्रधानसेनापतिलगायत अतिथिहरूले प्रदर्शनीको अवलोकन गरेका थिए । प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौजको भूमिका, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष संरक्षण, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, सैनिक विद्यालयहरू, राष्ट्रिय सेवा दललगायतका गतिविधिहरू समेट्ने गरी कुल २९ वटा स्टलहरू राखिएका छन् । शुक्रबारसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने यस प्रदर्शनीमा आमनागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।