काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले एएसजी आई केयरसँग आपसी व्यावसायिक हित तथा विभिन्न सामाजिक कार्यहरूमा सहकार्य गर्नका निम्ति समझदारीपत्रमा हस्ताक्षर गरेको छ । समझदारीपत्रमा फाइनान्सका ग्राहक, सेयरधनी, कर्मचारी तथा कर्मचारीका परिवारहरूलाई अस्पतालबाट प्रवाह हुने सम्पूर्ण सेवाहरूमा १० देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था रहेको छ । साथै, सम्झौताअनुसार एएसजी आई केयरले ओपीडीमा पहिलो पटकको दर्ता निःशुल्क तथा वर्षमा दुई पटक निःशुल्क आँखा जाँच अभियान सञ्चालन गर्नेछ । यसबाहेक विभिन्न क्षेत्रमा आँखा शिविरलगायतका संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका क्रियाकलापहरूमा फाइनान्ससँग सहकार्य गर्ने समेत समझदारी भएको छ ।
समझदारीपत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ तथा अस्पतालका तर्फबाट अपरेसन म्यानेजर राधिका महतोले हस्ताक्षर गरेका हुन् । उक्त अवसरमा फाइनान्सका प्रमुख सञ्चालन अधिकृत प्रमोद भट्टराई र अधिकृत अमिन श्रेष्ठ एवं अस्पतालका तर्फबाट बजार व्यवस्थापक सञ्जीव कुमार ठाकुरको उपस्थिति रहेको थियो ।