काठमाडौं । चीनको नयाँ ऊर्जा गाडी (नेभ) निर्माण गर्ने कम्पनी विवाईडीले ‘विवाईडी सेन्जेन’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ‘विवाईडी सेन्जेन’ संसारकै ठूलो रोल–अन÷रोल–अफ कार क्यारियर हो ।
यस जहाजले नौ हजार दुई सय गाडी बोक्न सक्ने क्षमता राख्ने कम्पनीको दाबी छ । चीनको जियाङ्सु प्रान्तको याङझाउमा निर्माण सम्पन्न भएर हालै पानीमा उतारिएको यो २१९ मिटर लामो र ३७ दशमलव सात मिटर चौडा जहाज एलएनजी डुअल–फ्युल प्रविधि, वीवाईडीका अत्याधुनिक ब्याट्री प्याक र साफ्ट जेनेरेटरद्वारा सञ्चालित छ । यी प्रविधिले ‘वीवाईडी सेन्जेन’लाई संसारकै सबैभन्दा वातावरणमैत्री र कुशल कार क्यारियर बनाएको कम्पनीले जनाएको छ ।
‘वीवाईडी सेन्जेन’ले कम्पनीको बढ्दो जहाजहरूको समूहमा स्थान पाएको छ । यसअघि कम्पनीको एक्सप्रोरर नम्बर १, हेफेई र चाङजोहु जस्ता जहाजहरूले सात हजारदेखि नौ हजार दुई सय गाडी बोक्ने क्षमता राख्दै अन्तर्राष्ट्रिय बजारमा नेभ आपूर्ति गरेका थिए । कम्पनीले २०२६ सम्म आफ्नो जहाज संख्या आठ पुर्याउने योजना बनाएको छ, यसले बढ्दो विश्वव्यापी माग पूरा गर्न सहयोग पुर्याउने कम्पनीको भनाइ छ । २०२४ मा कम्पनीले चार लाख १७ हजारभन्दा धेरै विद्युतीय गाडी चीनबाहिर पठाएको थियो । जुन अघिल्लो वर्षभन्दा ७२ प्रतिशत बढी हो । विद्युतीय गाडीको माग बढ्दै जाँदा, कम्पनी नयाँ प्रविधि, दिगो समाधान र बलियो आपूर्ति प्रणालीसँग अगाडि बढिरहेको जनाइहहएको छ ।