काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपालका बाढी र पहिरोबाट पीडितहरूलाई अति आवश्यक राहत उपलब्ध गराउन राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँग सहकार्य गरेको छ ।
इनड्राइभले बाढी पहिरो प्रभावित परिवारहरूका लागि पाँच वटा आवास (घर) निर्माण गर्न एवम् अन्य आवश्यक सामग्रीहरू वितरण गर्न ३३ लाख ५५ हजार पाँच सय रुपैयाँ अर्थात् २५ हजार अमेरिकन डलर सहयोग गरेको हो । इनड्राइभले स्थानीय समुदायसँग मिलेर उक्त आवासहरू निर्माण गरिरहेको जनाएको छ । कम्पनीका अनुसार नमोबुद्ध नगरपालिकाको वडा नम्बर १० स्थित दाप्चामा दुई वटा, लास्कोट गाउँमा एउटा र पनौती नगरपालिकास्थित रोशी गाउँको वडा नम्बर १२ मा दुई वटा र गरी ५ वटा आवासहरू निर्माण भइरहेका छन् । यी आवासहरू जाडो गर्मी बाह्रैमास बस्न उपयुक्त हुने तवरले निर्माण गरिएका छन् ।
बाँस र माटोको प्रयोग गरेर बनाइएको हुनाले यी घरहरू टिकाउ र दिगो रहेको कम्पनीको भनाइ छ । हरेक घरमा दुई वटा बेड रुम, अगाडिपट्टि बार्दली, शौचालय र किचन, डाइनिङ र लिभिङको लागि एउटा कोठा रहेको छ । चिसोमा न्यानो र गर्मीमा शीतल हुने किसिमले व्यवस्था गरिएको छ । यी घरहरूमा जाडोमा तापक्रम ११ डिग्री सेल्सियसभन्दा तल नजाने र गर्मीमा ३० डिग्रीभन्दामाथि नजाने जानकारी दिइएको छ । घर निर्माणको साथै इनड्राइभले नमोबुद्ध नगरपालिकाको वडा नम्बर १० का पीडित परिवारहरूलाई कम्बलहरू पनि प्रदान गरेको छ ।
इनड्राइभका एसिया प्यासिफिक कम्युनिकेसन लिड पवित नन्दा आनन्दले समुदायका मानिसहरूलाई सहयोग गर्ने र आवश्यकताअनुसार दिगो समाधान प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको बताए । राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँग सहकार्य गरेर प्राकृतिक प्रकोपबाट प्रभावित परिवारहरूलाई आश्रय प्रदान गर्नुका साथै भावी जीवन अझ राम्रो बनाउन मिल्ने आश्रयको व्यवस्था गरेको उनको भनाइ छ । इनड्राइभका एसिया प्यासिफिक रिजनल डाइरेक्टर मार्क टलीले सामाजिक अन्यायलाई चुनौती दिने मिसनमा लागि परेको इनड्राइभ सन २०३० को अन्त्यसम्म एक अर्ब मानिसको जीवनमा सकारात्मक प्रभाव पार्ने लक्ष्यमा रहेको बताए । दिगो समाधान र अर्थपूर्ण काममार्फत सामुदायिक हितको लागि राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँग सहकार्य गरेको उनले जानकारी दिए ।