काठमाडौं । मुलुकमा रोजगारी नपाउँदा वैदेशिक रोजगारीमा जानेको संख्या अत्यधिक बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म वैदेशिक रोजगारीका लागि तीन लाख ९३ हजार ६७ जनाले श्रम स्वीकृति लिएका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ दशमलव ४९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा वैदेशिक रोजगारीका लागि तीन लाख ४० हजार तीन सय ३० जनाले श्रम स्वीकृति लिएका छन् ।
एक सय २० भन्दा बढी मुलुकमा रोजगारीको लागि नेपाली युवाहरू जाने गरेका छन् । सबैभन्दा धेरै खाडी मुलुकका छवटा देश, मलेसिया, दक्षिण कोरिया, जापान, पोर्चुगललगायतका मुलुकमा जानेगरेका छन् । सरकारले संस्थागत श्रम स्वीकृतिका लागि एक सय आठवटा मुलुकहरू खुला गरेको छ ।
आर्थिक सर्वेक्षणअनुसार नेपालमा वार्षिक पाँच लाख १२ हजार श्रमशक्ति उत्पादन हुनेगरेको छ । तर, आन्तरिक बजारमा श्रम तथा रोजगारीको माग न्यून हुँदा युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य छन् ।
सर्वेक्षणले युवाहरूको वैदेशिक रोजगारीमा आकर्षण बढ्नुमा आन्तरिक श्रमबजारमा रोजगारीको अवसरको कमी, श्रमको कदर नगर्ने प्रवृत्ति, न्यून पारिश्रमिक, शिक्षा, सूचना र प्रविधिको विकास तथा बढ्दो महत्वाकांक्षा कारक रहेको उल्लेख गरेको छ । पछिल्लो समय भने अन्तर्राष्ट्रिय श्रमबजार खुला गरेसँगै युवाहरूलाई वैदेशिक रोजगारी सहज भएको हो ।
यसैबीच, सरकारले आन्तरिक रोजगारीभन्दा पनि वैदेशिक रोजगारीलाई प्राथमिकतामा राखेको पाइन्छ । जस्तो श्रम स्वीकृतिको सहजता, विमानस्थलको सहजतालगायतका कारणले गर्दा श्रम स्वीकृति लिनेको संख्या बढेको विज्ञहरू बताउँछन् । आन्तरिक रोजगारी अभाव र सरकारले विकल्पको रूपमा वैदेशिक रोजगारी उत्तम रहेको भाष्य सिर्जना गरेको कारण श्रम स्वीकृति लिनेको संख्यामा वृद्धिदर देखिएको उनीहरुको भनाइ छ ।
विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनमा ५९ हजार पाँच सय ७५ जना, भदौमा ५७ हजार चार सय ९३ जना, असोजमा ५३ हजार पाँच सय २५ जना, कात्तिकमा ७० हजार नौ सय ९० जना, मंसिरमा ८४ हजार दुई सय २६ जना र पुसमा ६७ हजार दुई सय ५८ जनाले श्रम स्वीकृति लिएका हुन । उनीहरूले वैदेशिक रोजगारमा जानका लागि श्रम स्वीकृति लिएका हुन् । विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त अधिकारीका अनुसार श्रम स्वीकृत लिनेमध्ये सबैभन्दा धेरै संयुक्त अरब इमिरेटस यूएई, साउदी अरेबिया र कतारका लागि छन् । उनका अनुसार समीक्षा अवधिमा यूएईका लागि एक लाख २२ हजार आठ सय २९ जना, साउदीका लािग ७८ हजार चार सय ६८ जना र कतारका लागि ७० हजार तीन सय दुई जनालाई श्रम स्वीकृति प्रदान गरिएको छ । नेपाली युवाहरुको श्रम गन्तव्य मुलुकको रूपमा मलेसिया र खाडीका छ मुलुकहरू रहेका छन् । यसका साथै दक्षिण कोरिया, जापानलगायतका मुलुकहरूमा समेत नेपाली युवाहरू काम गर्न जानेगरेका छन् ।
श्रम स्वीकृति लिनेमा अधिकांश बेरोजगार युवाहरू रहेको विभागका अधिकारीहरू बताउँछन् । वार्षिक उच्च संख्यामा युवाहरू नेपाली श्रमबजारमा प्रवेश गर्नेगरेका छन् तर रोजगारीसम्बन्धी सरकारको स्पष्ट नीति तथा कार्यान्वयन नहुँदा उनीहरू बाध्यात्मक वैदेशिक रोजगारीमा जानेगरेका छन् । भौतिक उपस्थितिविना श्रम स्वीकृति दिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीति तथा भैरहवामा वैदेशिक रोजगार कार्यालय स्थापनाले विदेश जान थप सहजीकरण गरिदिएको छ । नयाँ व्यक्तिगत श्रम स्वीकृति र वैधानिकीकरणमार्फत हुने श्रम स्वीकृतिको काम पनि अनलाइनबाट मात्र हुने व्यवस्थासँगै कार्यालयले श्रम स्वीकृतिमा सहजता रहेको छ ।