काठमाडौं । वाणिज्य बैंकहरूको औसत निष्क्रिय कर्जा (खराब कर्जा) झन्डै पाँच प्रतिशत पुगेको छ । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चार दशमलव ६० प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । पुस मसान्तसम्म बैंकहरूले ५९ खर्ब ४० अर्ब ८९ करोड १० लाख रुपैयाँँ निक्षेप सङ्कलन गरी ४७ खर्ब १२ अर्ब ५१ करोड २० लाख रुपैयाँँ कर्जा प्रवाह गरेका छन् ।
वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा यस वर्ष पुस मसान्तमा शून्य दशमलव ९९ प्रतिशत विन्दु बढी हो । गत वर्ष पुस मसान्तसम्म वाणिज्य बैंकहरूले ५३ खर्ब २५ अर्ब आठ करोड ७० लाख रुपैयाँँ निक्षेप सङ्कलन गरी ४४ खर्ब १४ अर्ब ७९ करोड ७० लाख रुपैयाँँ कर्जा प्रवाह गरेका थिए । त्यतिबेला बैंकहरूको औसत निष्क्रिय कर्जा तीन दशमलव ६१ प्रतिशत थियो ।
गत पुस मसान्तसम्म नबिल बैंक, ग्लोबल आईएमई बैंक, प्राइम कमर्सियल बैंक र प्रभु बैंकको निष्क्रिय कर्जा क्रमशः एक दशमलव ७०, चार दशमलव ८६, चार दशमलव ९६ र पाँच दशमलव शून्य छ प्रतिशत छ । गत आर्थिक वर्षकोे दोस्रो त्रैमासमा यी बैंकहरूको यस्तो कर्जा क्रमशः एक दशमलव २०, चार दशमलव ६८, चार दशमलव शून्य सात र आठ दशमलव १२ प्रतिशत थियो । कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एभरेष्ट बैंक र एनएमबी बैंकको निष्क्रिय कर्जा क्रमशः छ दशमलव ९६, एक दशमलव ६७, शून्य दशमलव ६६ र तीन दशमलव ९६ प्रतिशत छ । गत आर्थिक वर्षको दोस्रोे त्रैमासमा यी बैंकहरूको निष्क्रिय कर्जा चार दशमलव ९७, एक दशमलव २०, शुन्य दशमलव ७७ र दुई दशमलव ८६ प्रतिशत थियो ।
सानिमा बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक र लक्ष्मी सनराइज बैंकको निष्क्रिय कर्जा क्रमशः एक दशमलव ५१, चार दशमलव ९८, चार दशमलव ५४ र पाँच दशमलव ६७ प्रतिशत छ । गत आर्थिक वर्षको पुस मसान्तमा यी बैंकहरूको निष्क्रिय कर्जा क्रमशः शून्य दशमलव ७५, चार दशमलव ९५, दुई दशमलव ६२ र चार दशमलव ६७ प्रतिशत थियो ।
नेपाल एसबीआई बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक र कृषि विकास बैंकको निष्क्रिय कर्जा क्रमशः तीन दशमलव ५५, एक दशमलव ७१, चार दशमलव ५० र चार दशमलव ९० प्रतिशत छ । गत आर्थिक वर्षको पुस मसान्तमा यी बैंकहरूको निष्क्रिय कर्जा क्रमशः दुई दशमलव २९, एक दशमलव ६०, दुई दशमलव ५६ र तीन दशमलव शून्य दुई प्रतिशत थियो । सिटिजन्स बैंक इन्टरनेसनल, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको निष्क्रिय कर्जा क्रमशः चार दशमलव ८५, एक दशमलव ४७, तीन दशमलव ९५ र चार दशमलव ९९ प्रतिशत छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा यी बैंकहरूको निष्क्रिय कर्जा क्रमशः चार दशमलव शून्य सात, शून्य दशमलव ५८, तीन दशमलव ९५ र चार दशमलव ५० प्रतिशत थियो ।