काठमाडौं । नबिल बैंकका सिनियर डीसीओ मनोज ज्ञवालीले विश्वभर चलिरहेको स्टार्टअप ९० देखि ९५ प्रतिशत असफल भएकाले बैकहरूले लगानी नगर्ने गरेको बताएका छन् । नेपाली कांग्रेसले आयोजना गरेको स्टार्टअप र साना तथा मझौला सम्मेलनमा ‘नवप्रवर्तन र उद्यमशीलताद्वारा आर्थिक रूपान्तरण’ विषयक छलफलमा उनले बैंकले बिजनेस असफलको रिक्स लिन नसक्ने कारणले स्टार्टअपलाई लगानी नगर्ने गरेको जानकारी दिए । स्टार्टअपहरूले बैंकहरू खोज्नेभन्दा पनि सरकारी स्रोतहरू खोज्नुपर्ने उनको सुझाव छ । ‘यदी स्टार्टअप गर्ने हो भने आफ्नो सञ्चित रकमबाट सुरु गर्नुहोस् । यदि पुगेन भने परिवारको सदस्यहरूबाट लिनुहोस् । त्यसले पनि पुगेको भने भेन्चर क्यापिटलहरूमा जानुहोस् । त्यसले पनि पुगेन भने सरकारमा पुग्नुहोस् । यति गरेपछि स्टार्टअप ग्रो हुन्छ र बैंक त्यसपछि तपाईंको पछि पछि लाग्छ’, उनले भने ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले भने स्टार्टअप र उद्यमशीलताका लागि बैंकिङ सपोर्ट आवश्यक हुने बताए । सहुलियतपूर्ण कर्जा केन्द्रीय बैंकबाट जान नसकेको बताउँदै उनले कर्जा प्रवाह बढाउनुपर्नेमा जोड दिए । त्यस्तै, गोल्डस्टार सुजका कार्यकारी निर्देशक विदुषी रानाले उत्पादनमूलक क्षेत्रमा नेपालले लगानी बढाउन जरुरी रहेको बताइन । ‘व्यवसाय गर्न नेपालमा मात्रै नभएर विश्वमै चुनौती छ । तर नेपालमा धेरै चुनौतीहरू छन् । जुनसुकै व्यवसायमा प्रविधिको अनिवार्य भइसकेको छ । यदी प्रविधिलाई प्रयोग गरिएनौं भनेपछि परिन्छ’, उनले भनिन् । उत्पादनमूलक उद्योगलाई बैंकहरूले प्रवाह गर्ने कर्जा महँगो भएको रानाले बताइन् ।
‘नेपालमा करिब १५ सय वटा फुटवेयर कम्पनीहरू छन् । नेपालबाट विदेश निर्यात हुने जुत्तामध्ये ९० प्रतिशत गोल्डस्टार रहेका छन् । पछिल्लो १० वर्षयता निर्यात गर्न गाह्रो भएको छ । बैंकको ब्याजदर महँगो छ । ट्रेडिङ र उत्पादनमूलक क्षेत्रमा व्याजदर फरक हुनुपर्छ’, उनले भनिन् । उत्पादनमूलक उद्योगलाई सरकारबाट प्रोरेक्सन हुनुपर्नेमा उनको जोड छ । नास आईटीका उपाध्यक्ष गौरव पाण्डे युवालाई विदेश जान रोक्नुभन्दा पनि विदेशिएका युवालाई नेपाल फर्काएर व्यवसाय गर्नको लागि प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । आईटी क्षेत्रमा नेपालले धेरैअघि बढेको बताउँदै करिब एक लाख युवा यस क्षेत्रमा आबद्ध रहेको बताए । अबको १० वर्षमा चार लाख युवालाई रोजगारी प्रदान गर्न सकिने र वार्षिक १० खर्ब विदेशी मुद्रा आर्जन गर्न सकिने बताए । यसका लागि सरकारको नीति, बैंकिङ सपोर्ट महत्वपूर्ण हुने उनले बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले हाल आर्थिक क्षेत्र सुस्ताएको बताए । ‘अहिले २०÷४० प्रतिशतमा मात्रै उद्योग चलिरहेको छ । माग कम छ । व्यवसायीमा नैरास्यता छ’, उनले भने, ‘व्यवसायीको मनोदशा गम्भीर छ । मनोदशालाई परिवर्तन गर्न जरुरी छ ।’ राज्यले उद्योग व्यवसाय गर्ने नभई अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो । ‘व्यवसाय गर्दा राज्यलाई के फाइदा दियो त्यो हेर्ने, हो नाफा हेर्ने होइन । हाम्रो पनि व्यावसायिक धर्म हो । हामी नाफा हेर्छौं । उचित र अनुचित नाफामा सरकारले हेर्नुपर्छ’, श्रेष्ठले भने ।