काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विगत लामो समयदेखि आर्थिक सहयोग उपलब्ध गराउँदै आएको पोखरा– १७ दोबिल्लामा सञ्चालित साहारा फुटबल एकेडेमीलाई यसपटक पनि सहयोग गरेको छ । एकेडेमीमा आश्रित विद्यार्थीहरूको समुन्नतिको लागि आर्थिक सहयोगस्वरूप दुई लाख ४५ हजार सहयोग हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा बैंक सञ्चालक समिति सदस्य रामचन्द्र सिग्देल र अर्जुन थापाले संयुक्तरूपमा साहारा फुटबल एकेडेमीका अध्यक्ष केशवराज बराललाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरे । उक्त अवसरमा सञ्चालक अर्जुन थापाले साहारा फुटबल एकेडेमीमा आश्रित विद्यार्थी बालबालिकाहरूलाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । साथै, एकेडेमीले खेलकुदको उन्नतिको लागि निकै राम्रो र प्रशंसनीय कार्य गर्दै आएकोमा प्रशंशा समेत गरे ।
लुम्बिनी विकास बैंकले प्रदान गरेको आर्थिक सहयोगका लागि आभार प्रकट गर्दै साहारा क्लबका अध्यक्ष बरालले सहयोग रकम एकेडेमीमा आश्रित बालबालिकाहरूको खाजा र खानाका लागि खर्च गरिने बताए । कार्यक्रममा बैंकका पोखरास्थित शाखाहरूका प्रबन्धकहरू, क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ, उपाध्यक्ष चित्रबहादुर पुन, कोषाध्यक्ष विनु राना मगर, सह—कोषाध्यक्ष अशोक लालचन, पूर्वसह— कोषाध्यक्ष लिलाबहादुर थापा, पूर्वअध्यक्ष विक्रम थकाली र सल्लाहकार सुनिल गुरुङलगायतका सरोकारवालाहरूको उपस्थिति रहेको थियो । एकेडेमीमा हाल ४० कठिन एवं विपन्न परिस्थितिका बालकहरू छन् । साहारा क्लब पोखराले उनीहरूको लालनपालन, शिक्षासँगै फुटबल प्रशिक्षण दिँदै आएको छ । क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गरिरहेको छ ।
देशका सात वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको विभिन्न स्थानहरूमा गरी ८९ वटा शाखा कार्यालयहरू तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) रहेकोे छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।