काठमाडौं । राजधानीको भृकुटीमण्डपमा ‘फेमिली एन्ड बेबी एक्स्पो २०२५’ सुरु भएको छ । बुधबार एक कार्यक्रमकाबीच अभिनेत्री प्रियंका कार्की र उनकी छोरी आयांकाले संयुक्तरूपमा एक्स्पोको उद्घाटन गरेका थिए ।
‘वान स्टप सोलुसन फर फेमिली एन्ड बेबी रिलेटेड प्रोडक्ट्स एन्ड सर्भिसेज’ भन्ने स्लोगानका साथ इभेन्ट सोलुसन प्रालिको आयोजनामा सुरु भएको एक्स्पोमा बालबच्चाका लागि आवश्यक सबै सामान तथा सेवा एकै छानामुनि उपलब्ध गराइएको छ । निःशुल्क प्रवेश गर्न सकिने एक्स्पोमा बालबालिकाहरूले मस्कट एपियरेन्स, पोएट्री तथा क्यालिग्राफी एक्टिभिटिजमा सहभागी हुन सक्छन् । फोटो बुथ तथा ३६० डिग्री क्यामेरा आकर्षणका रूपमा रहने एक्स्पोमा ट्रिजर हन्ट, स्पिन द ह्विल, स्काउट गेम तथा डान्समा बालबच्चा रमाउन सक्छन् । बेलुन पपअप, म्युजिकल चियर, चक्चा दौड, फेस पेन्टिङ तथा ड्रइङ, पानीपुरी तथा पपकर्न खाने प्रतियोगिता एक्स्पोको आकर्षणका रूपमा रहेका छन् । एक्स्पोका विभिन्न क्रियाकलापमा सहभागी हुनेहरूलाई दैनिकरूपमा गोलाप्रथाबाट उपहार प्रदान गरिने इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले जानकारी दिए ।
एक्स्पोमा आउने बालबालिका तथा अभिभावकको सहजताका लागि एक्स्पोस्थलमा ब्रेस्ट फिडिङ बुथ, चेन्जिङ बुथलगायतका अत्यावश्यक सेवा समावेश गरिएको प्रधानले बताए । शनिबार समापन हुने एक्स्पोको क्लोजिङ सेसनमा ‘टिम कार्टुन’को विशेष प्रस्तुति रहनेछ । बालबच्चा तथा अभिभावक गरी २५ हजारभन्दा बढीले एक्स्पो अवलोकन गर्ने आयोजकको अनुमान छ ।