देउखुरी (दाङ) । भालुवाङमा बिहीबार आयोजित खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्णायक तहमा महिलाको भूमिका बिषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक घर, एक धारा अभियानले उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको बताएका छन् ।
उक्त अभियानले आधारभुत तहका उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको बताउदै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा ९२ प्रतिशत उपभोक्ताको पहुँचमा खानेपानी पुगेको जानकारी दिए । उनले भने, “आधारभुत पानी मात्रै होइन, स्वच्छ पानी पुर्याउने सरकारको सङ्कल्प छ ।”
लुम्बिनी प्रदेशमा १५ लाख सात हजार छ सय ६३ उपभोक्ता शुद्ध खानेपानीको पहुँचमा पुगेको जनाइएको छ । साना तथा ठूला गरेर तीन हजार एक सय ७० खानेपानी आयोजना सञ्चालनमा छन् । दुई लाख ३७ हजार तीन सय ४८ धारा वितरण भएका छन् । चालु आर्थिक बर्षमा एक हजार तीन सय ९० आयोजना सञ्चालनमा छन् । जसका लागि एक अर्ब ५६ करोड ३३ लाख बजेट विनियोजन भएको छ ।
अघिल्लो सरकारको पालामा सुरु भएका तर, ८० प्रतिशत काम सम्पन्न भएर पनि पानी वितरण हुन नसकेका एक सय ५६ वटा योजना यस बर्ष सम्पन्न भई पानी वितरण गर्ने योजना प्रदेश सरकारको छ ।
मुख्यमन्त्री आचार्यले आगामी बर्ष ६० देखि ८० प्रतिशतसम्म काम सम्पन्न भएका योजनामा बजेट थप गरेर सम्पन्न गरिने जानकारी दिए । अधुरा आयोजनालाई पुरा गर्नेगरी सरकारले रणनीति बनाएको उनले बताए ।
खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा महिलाको सहभागिता सुनिश्चित भएपनि त्यसलाई अर्थपूर्ण बनाउन भूमिका बढाउनुपर्नेमा जोड दिदै मुख्यमन्त्री आचार्यले शहरी क्षेत्रका खानेपानी संस्थामा महिलाको सहभागिता अर्थपूर्ण देखिएपनि ग्रामीण क्षेत्रका संस्थामा सहभागिता मात्रै रहेको जनाए ।