फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार फ्लोरिडामा आयोजित एक कार्यक्रममा भारत, चीन र ब्राजिलजस्ता देशमा उच्च कर लगाउने धम्की दिएका छन् । उनले अमेरिकालाई धनी र शक्तिशाली बनाउने व्यवस्थामा फर्किने समय आएको बताउँदै ती देशका उत्पादनमा उच्च कर लगाउने चेतावनी दिएका हुन् ।
‘हामीलाई हानि पुर्याउन चाहने देश र बाहिरका मानिसहरुलाई हामीले धेरै कर लगाउने छौँ । अरु देशहरुले के गर्छन हेर्नुहोस् । चीनले धेरै कर लगाउँछ । भारत, ब्राजिल र अन्य देशहरुले पनि त्यस्तै गर्छन् । अब हामी त्यस्तो हुन दिँदैनौँ किनभने हामी अमेरिकालाई पहिलो स्थान दिनेछौँ’, ट्रम्पले भने ।
भारत, चीन र ब्राजिलले आफ्नो स्वार्थका लागि काम गरिरहेको र त्यसबाट अमेरिकालाई नोक्सान भइरहेको ट्रम्पले दाबी गरेका छन् । उनले अब अमेरिकाले इमान्दार प्रणाली बनाउने र अमेरिका फेरि धेरै धनी बन्ने बताए । यो काम आफूले छिट्टै गर्ने बताए ।
ट्रम्पले अन्य देशमा भन्सार बढाएसँगै अमेरिकी कामदार र उद्योगमा लाग्ने कर घटाइने बताए । यसबाट अमेरिकामा ठूलो संख्यामा रोजगारी र कारखानाहरु स्थापना हुने दाबी गरे ।