काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न नसकेर २०८१ साउनयता २६ हजारभन्दा बढी ऋणी कालो सूचीमा परेका छन् । कर्जा सूचना केन्द्रको तथ्याङ्कअनुसार साउन १ देखि माघ १४ गतेसम्म २६ हजार छ सय पाँच जना व्यक्ति कालो सूचीमा परेका छन् । यसमध्ये दुई हजार चार सय २५ जनाले ऋण चुक्ता गरी कालो सूचीबाट हटेका छन् । बाँकी २४ हजार एक सय सय ८० जना अझै कालो सूचीमा कायम छन् ।
यस्तै हालसम्म कालो सूचीमा कायम व्यक्तिहरूको संख्या एक लाख १३ हजार चार सय १३ छ । यसमध्ये क, ख र ग वर्गका वित्तीय संस्थाको ऋण तिर्न नसकेर हालसम्म कालो सूचीमा कायम रहनेहरूको संख्या एक लाख छ हजार नौ सय दुई छ । २०८१ असार मसान्तसम्म कालो सूचीमा परेकामध्ये ८९ हजार दुई सय ३३ जना अहिले पनि कालो सूचीमै कायम छन् ।
यस्तै लघुवित्त वित्तीय संस्थाका दुई हजार चार सय ९६ ऋणी पनि कालो सूचीमा परेका छन् । यो तथ्याङ्क साउन १ देखि माघ १४ गतेसम्मको हो । हालसम्म लघुवित्तबाट ऋण लिएकाहरूमध्ये छ हजार पाँच सय ११ जना कालो सूचीमा कायम छन् । अहिले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने ऋणीहरुको कुल संख्या करिब १८ लाख हाराहारी छ । यसमध्ये करिब छ प्रतिशत ऋणी कालो सूचीमा परेका छन् ।
कालो सूचीमा पर्नेहरूको ग्राफ बढ्दै जानुलाई बजार चलायमान नहुनुको मुख्य कारक मान्न सकिन्छ । जुन अर्थतन्त्र शिथिल बन्दाको एउटा परिणाम पनि हो । अर्थतन्त्रका अधिकांश सूचकहरू सकारात्मक देखिन्छन् । तर, गत वर्ष उच्च ब्याजदरले थिचिएका ऋणीहरू अहिले ब्याजदर सस्तिँदा पनि ऋण तिर्नसक्ने अवस्थामा छैनन् । ऋण तिर्ने क्षमता कमजोर बनेको छ । अर्कोतर्फ घरजग्गा कारोबार सुस्त छ । उत्पादन न्यून छ । अपेक्षा गरेअनुसार माग बढ्न सकेको छैन । यसैको परिणाम ऋणीले बैंकको किस्ता तिर्न सकिरहेका छैनन् ।
ऋणीले समयमै ऋण तिर्न नसक्दा बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा ह्वात्तै बढेको छ । अहिले बैंकहरूको खराब कर्जा पाँच प्रतिशत हाराहारी पुगेको छ । यसले तत्काल अर्थतन्त्रमा कुनै असर नगरे पनि देशको वित्तीय प्रणालीको स्वास्थ्य राम्रो छैन भन्ने सङ्केत गर्छ । अर्थतन्त्रको यही हाल रहिरहने हो र कालो सूचीमा पर्ने ऋणीको संख्याको रफ्तार बढ्दै जाने हो भने बैंकहरू अप्ठ्यारोमा पर्ने निश्चित छ ।
बैंकहरूले प्रवाह गर्ने कर्जाको स्थितिले अर्थतन्त्रलाई पनि चित्रण गर्छ । यसले आर्थिक तथा व्यावसायिक क्रियाकलापमा सिधा असर पुर्याउँछ । बजार चलायमान नहुँदा ऋण लिएर लगानी गर्नेहरूको मनोविज्ञान बिग्रिन्छ ।
कर्जाको माग न्यून भएपछि राष्ट्र बैंकले बजारबाट पैसा तानेर तरलता व्यवस्थापन गर्दै आएको छ । अहिले पनि राष्ट्र बैंकले दुई खर्ब रुपैयाँभन्दा बढी पैसा प्रणालीबाट तानेर राखेको छ । वित्तीय प्रणालीमा साढे छ खर्ब हाराहारी लगानीयोग्य रकम थुप्रिएको छ ।