काठमाडौं । नेपालमा कम्पनी दर्ता गर्न झन्झटिलो प्रक्रिया रहेकोले कानुनी सहजीकरण गर्न उद्यमीहरूले जोड दिएका छन् । ई–गर्भनेन्स बोर्डका सीईओ दिपेश विष्टले अन्य देशमा कम्पनी दर्ता गर्न प्रतिस्पर्धा हुने तर नेपालमा अति नै झन्झटिलो प्रक्रिया रहेको बताए ।
नेपालमा कम्पनी दर्ताको लागि सरकारले कानुनी सहजताका लागि पहल गर्नेुपर्नेमा जोड दिए । साथै, उनले कानुनी सहजताले मात्रै नपुग्नै बताउँदै कानुनी सहायता पनि दिनुपर्ने बताए । नेपाली काँग्रेसको मुख्यालय सानेपामा भएको नेपाल स्टार्टअप तथा एसएमई सम्मेलनको ‘मेरो उद्यमशील यात्रा’ शीर्षकको सामूहिक छलफल उनले नेपालमा आईटी जानेको दक्ष जनशक्ति पनि तयार गर्नुपर्ने बताए । उनले नयाँ युवालाई व्यवसायमा संलग्न गराउने सवालमा आईटी नै पढनुपर्छ भन्ने नभए पनि लगानी गरेर आईटी फिल्डका युवालाई रोजगारी दिन सकिने बताए । नेपालमा आगामी पाँच वर्षमा आईटी क्षेत्र र उद्यममा ठूलो आर्थिक रूपान्तरण हुने उनको विश्वास छ ।
उनले राजधानीमा आईटी अफिसरको औसत तलब मासिक ४० हजार रुपैयाँको हाराहारीमा र आईटी परियोजना प्रबन्धकको तलबप्रति महिना ५० हजारदेखि एक लाखसम्म रहेको जानकारी दिए । यस्तै, उनले सफ्टवेयर विकासकर्तामा मध्यस्तर सफ्टवेयर विकासकर्ताहरूले प्रतिमहिना ५० हजारदेखि ८० हजार रुपैयाँ र सफ्टवेयर इन्जिनियर, वरिष्ठ सफ्टवेयर इन्जिनियरहरूले प्रतिमहिना एक लाख २० हजारदेखि एक लाख ८० हजार वा सोभन्दा बढी पनि कमाउने गरेको उल्लेख गरे ।
दायित्वका संस्थाका संस्थापक अध्यक्ष पुकार मल्लले नेपालमा युवा पुस्ताले पहिचानसहितको काम र परिणामसहितको कर्तव्यलाई आत्मसात गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले सीमान्तकृत समुदायलाई आर्थिकरूपमा सम्पन्न बनाउनु नै अहिलेको उद्यमशीलताको मुख्य उद्देश्य रहेको बताए । गाउँपालिका राष्ट्रिय संघका अध्यक्ष लक्ष्मी पान्डेले स्टार्टअप अहिलेको महत्वपूर्ण विषय भएका उल्लेख गरिन् । हाल स्थानीय सरकारले अनुसूची ८ अनुरूप महिला उद्यमका लागि सहजीकरण गर्न ऐन संशोधनका लागि प्रयत्नरत गरिरहेको जानकारी दिइन् ।
त्यस्तै, रानीमहल रिसोर्टका सञ्चालक टंकनाथ घिमिरेले वैदेशिक यात्रा त्यागेर नेपालमै बसेर व्यवसाय गरेको सुनाए । व्यवसायमा चुनौती रहेका उल्लेख गर्दै उनले १० हजारबाट सुरु भएको आफ्नो उद्यम–व्यवसायको यात्रालाई अहिले चार करोडभन्दा बढीको बनाएको जानकारी दिए । सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवाले मुस्ताङ जिल्लाजस्तो पर्यटन क्षेत्र भएको ठाउँमा स्याउको सुकुटी, ड्राइएप्पल, होटल सञ्चालन गरेर आफू सफलताको यात्रामा अगाडि बढेको बताइन् । २०७० सालमा उद्योग दर्ता गरेर भौतिक संरचना बनाउँदा पैसा नभएको उल्लेख गर्दै उनले आँट गरेर अगाडि बढ्यो भने सम्भावनालाई सजिलै क्यास गर्न सकिने बताइन् ।