गण्डकी । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म २८ दशमलव ५२ किमी सडक कालोपत्र भएको छ । आयोजनाका इन्जिनियर सौजन्य नेपालका अनुसार उक्त खण्डमा अब १० दशमलव ३६ किमी सडक कालोपत्र हुन बाँकी छ ।
‘तनहुँमा साढे दुई किमी कालोपत्र हुन बाँकी छ, कास्की खण्डमा पनि अहिले धमाधम कालोपत्र भइरहेको छ’, उनले भने, ‘आगामी वर्षभित्र काम सक्ने लक्ष्य लिइएको छ ।’ तनहुँमा २० दशमलव आठ किमी र कास्कीमा १८ दशमलव शून्य आठ किमी सडक कालोपत्र भइसकेको छ । चार लेन दुवैतर्फ तनहुँमा १० दशमलव शून्य आठ र कास्कीमा चार दशमलव ३९ किमी र तनहुँमा दुई लेन (एकतर्फी) सात दशमलव ९८ किमी र कास्कीमा छ दशमलव शून्य सात किमी सडक कालोपत्र भएको इन्जिनियर नेपालले जानकारी दिए । तनहुँमा दुई दशमलव ७४ किमी र कास्कीमा सात दशमलव ६२ किमी गरी कुल १० दशमलव ३६ किमी सडक कालोपत्र हुन बाँकी रहेको उनले बताए ।
चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले विसं २०७८ देखि उक्त खण्डको काम सुरु गरेको थियो ।‘आयोजनाको पछिल्लो भौतिक प्रगति ४२ प्रतिशत पुगेको छ, जनवरी महिनाको प्रगति भने थप हुन बाँकी छ’, इन्जिनियर नेपालले भने,‘पोखराको चाउथे, अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिँहचोक, बुढीबजारलगायत ठाउँमा कालोपत्रको काम भइरहेको छ, तालचोकदेखि गगनडाँडासम्मको खण्डमा पनि निर्माणले गति लिएको छ ।’ कास्की र तनहुँमा पर्ने पश्चिम खण्डको तीन वर्षे ठेक्का अवधि गत भदौमा सकिएपछि निर्माण कम्पनीले म्याद थपेर काम गरिरहेको हो । पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्र भइसकेको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधाजति चार लेनको बन्ने इन्जिनियर नेपालले जानकारी दिए ।
वियजपुर खोला र सेती नदीमा पुल निर्माणको काम पनि सँगसँगै भइरहेको उनको भनाइ छ । ‘सडक विस्तारसँगै पुल, कल्भर्ट, नालीलगायत पूर्वाधार निर्माणको काम दु्रत गत गतिमा भइरहेको छ’, इन्जिनियर नेपालले भने, ‘निर्माण कम्पनीले एक वर्षभित्रमा निर्माण पूरा गर्ने प्रतिबद्धता जनाएको छ ।’ कोभिड–१९ महामारीलगायत कारणले सुरुको चरणमा केही ढिलाइ भएपनि पछिल्लो समय कामले गति लिएको उनको भनाइ छ । ३८ दशमलव ८८ किमी दूरीको पश्चिम खण्डमा पर्ने १२ वटामध्ये नौ वटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको आयोजना कार्यालयले जनाएको छ ।
चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनलले सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा पश्चिमखण्ड निर्माणको जिम्मा लिएको हो । कुल ८१ किमि दूरीको पोखरा–मुग्लिन सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो । ४१ दशमलव ४५ किमीको पूर्वीखण्डमा पनि विसं २०७८ वैशाखदेखि निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको थियो । पूर्वी खण्डमा पर्ने तनहुँको दमौली र डुम्रे बजारमा छ लेन र बाँकी खण्डमा चार लेनको सडक बन्ने आयोजना कार्यालयले जनाएको छ । निर्माण कम्पनीले छ अर्ब २१ करोड ३१ लाख रुपैयाँमा उक्त खण्डको ठेक्का लिएको थियो । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडकलाई चार लेनमा स्तरोन्नति गर्न लागिएकामा पूर्वी खण्ड (जामुने–मुग्लिन)मा भने कालोपत्रको काम अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ ।