काठमाडौँ । राष्ट्रियसभाका सदस्य नारायणकाजी श्रेष्ठले राष्ट्रियसभाको शुक्रबारदेखि प्रारम्भ भएको सत्रौँ अधिवेशनमा बोल्दै समाजवादको दिशामा बहस गर्नुपर्ने बताएका छन् । उनले लोकतान्त्रिक विशेषतासहित समाजवादउन्मुख नीति तथा कार्यक्रमका आधारमा समुन्नत नेपालका पक्षमा अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र)का नेता श्रेष्ठले हिउँदे अधिवेशन समयमा सुरु नहुने बुझेपछि विशेष अधिवेशनको माग गर्छौं भनी दबाब दिएपछि मात्र अधिवेशन सुरु गरिएको बताए । उनले यसरी अधिवेशन सुरु गर्नुको सट्टा धमाधम अध्यादेश जारी गर्ने दिशामा सरकार अग्रसर हुनु गलत कार्य भएको टिप्पणी गरे ।
“हामी कोही सत्ता पक्ष र कोही प्रतिपक्षका रुपमा आज हामी यहाँ फरक भूमिकामा छौं तर राष्ट्र र जनताको पक्षमा आवाज उठाउने, मुलुकको लोकतान्त्रिक शासन व्यवस्थालाई रक्षा गर्दै सामाजिक आर्थिक सुधारमा सबैले सक्दो भूमिका निर्वाह गर्नुपर्दछ,” नेता श्रेष्ठले भने, “देश र जनताका पक्षमा सकारात्मक निर्णयसहित यो अधिवेशन सफल बनाउने दायित्व हामी सबैको हो ।”
नेता श्रेष्ठले छिमेकी देशलगायत अन्य मुलुकसँग विश्वासको सम्बन्ध कायम राख्न सरकारको ध्यानाकर्षण गराए । उनले छिमेकी मुलुकसँग विश्वासको वातावरण कायम राख्न नसकेमा देशको हित नहुने बताए । उनले विधेयकको नियमन गर्नुपर्ने सत्तापक्ष आफूखुसी संविधान संशोधनको पक्षमा अग्रसर भएको भनी आपत्ति प्रकट गरे ।
हामीले जनताको हित हुनेगरी समाजिक–आर्थिक रुपान्तरणको कार्यलाई अगाडि बढाउनुपर्नेमा नेता श्रेष्ठको जोड रहेको छ । उनले भने, “राजनीतिक परिवर्तनको औचित्य पुष्टि नगर्ने हो भने जनतामा अविश्वास पैदा हुन्छ ।” राज्यको नेतृत्व गर्ने सरकारले जिम्मेवार अन्य राजनीतिक पार्टीहरुसँग पनि हातेमालो गर्दै मूलभूत मुद्दामा सहकार्य गर्न सरकारसँग आग्रह गरे ।