क्रिप्टो कारोबारको लागि नेपाल स्वर्णभूमि बन्दै गएको देखिन्छ । अभौतिक मुद्रा अर्थात् (क्रिप्टो करेन्सी) कारोबारको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले सात जनालाई पक्राउ गरेको छ । यसअघि पनि पटक–पटक यस्तो कारोबारमा संलग्न धेरै व्यक्तिहरू पक्राउ परेका थिए । उनीहरूले अर्बौँ रुपैयाँ कारोबार गरेको देखिनुले पनि नेपाल क्रिप्टो कारोबारको लागि स्वर्णभूमि बन्दै गएको भन्न सकिन्छ ।
सीआईबीको प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार पछिल्लो पटक क्रिप्टो कारोबारमा संलग्न सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कैलालीको बर्दगोरिया गाउँपालिका–६ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ गैरीगाउँ बस्ने २२ वर्षीय माइकल डंगौरा, सोही ठाउँका २६ वर्षीय अनिल विश्वकर्मा, बूढानीलकण्ठ–८ का पियुष श्रेष्ठ, दोलखाको भीमेश्वर नगरपालिका–४ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा तेजबिनायक चोक बस्ने १९ वर्षीय आश्विन चौलागाई, रौतहटको गौर नगरपालिका–९ घर भई हाल काठमाडौंको नयाँ बानेश्वर बस्ने २२ वर्षीय सत्यमकुमार सहनी, भारतको बिहार घर भई हाल काठमाडौं महानगरपालिका वडा नं २५ बस्ने २७ वर्षीय रोशन कुमार र भारतको बिहार नै घर भई हाल काठमाडौं महानगरपालिका वडा नंं ९ बस्ने ३६ वर्षीय मुन्ना कुमार रहेका छन् । पक्राउ परेका यी व्यक्तिहरूलाई सीआईबीले शुक्रबार सार्वजनिक गरेको हो ।
सीआईबीका प्रवक्ता शाहीका अनुसार पक्राउ परेकाहरूको साथबाट कम्युटरको सीपीयु २ थान, विभिन्न ब्रान्डका मोबाइल १३ थान, विभिन्न व्यक्तिका नाममा जारी भएका बैंकका चेकहरू १९ थान र नगद पाँच लाख ५० हजार रुपैयाँ बरामद गरिएको छ । यो समूले हालसम्म तीन अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको खुलेको प्रहरी उपरीक्षक शाहीले जानकारी दिए । प्रवक्ता शाहीका अनुसार यो समूहले विभिन्न व्यक्तिहरूलाई संगठितरूपमा परिचालन गरी ठगी तथा अभौतिक मुद्राको कारोबार गर्ने गरेको, विभिन्न बैंक तथा डिजिटल वालेटहरूका प्रयोगकर्ताहरूलाई झुक्याई बैंक तथा वालेटहरूको आधिकारिक व्यक्ति भनी निजहरूको ओटीपी पिन माग गरी अनधिकृतरूपमा बैंक तथा डिजिटल वालेटमा पहुँच पु¥याई रकम ठगी गर्नेगरेको, विभिन्न सामाजिक सञ्जालमा अनलाइन जब, अनलाइन ग्याम्बलिङ आदिजस्ता आकर्षक विज्ञापनहरू विभिन्न लिंकहरूबाट पठाई साइबर फिसिङ गरी प्रयोगकर्ताहरूको बैंक तथा वालेटमा पहुँच पु¥याई निजहरूको रकम अन्यत्र खातामा ट्रान्सफर गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
यसरी ठगी गरेको रकम विभिन्न व्यक्तिहरूको बैंक तथा डिजिटल वालेटहरूमा ट्रान्सफर गर्ने, विभिन्न माध्यमबाट मानिसहरूलाई प्रलोभनमा पारी उनीहरूको नागरिकता, फोन नम्बर प्रयोग गरी विभिन्न बैंक तथा डिजिटल वालेटहरूमा खाता खोल्न लगाई उक्त खाता आफुले प्रयोग गर्ने र प्रयोग गरेबापत निश्चित रकम दिनेगरेको र यस्ता खाताहरूमा अनलाइन ठगी बाट आर्जित रकम जम्मा गर्ने, क्रिप्टोकरेन्सी खरिद बिक्री गर्ने तथा हुन्डी कारोबार गर्न समेत प्रयोग गर्ने गरेको खुल्न आएको छ । हालसम्म यो समूहले तीन अर्बभन्दा बढी रकम ठगी गरेको समेत खुलेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान प्रहरी उपरीक्षक शाहीले जानकारी दिएका छन् ।