म्याग्दी । सहकारीको रकम हिनामिना गरेको आरोपमा जिल्ला समन्वय समिति म्याम्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीले प्रमुख थापालाई आइतबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सागर पौडेलले सदरमुकाम बेनीमा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना गरेको उजुरीका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको बताए ।
प्रहरी निरीक्षक पौडेलले थापालाई पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको बताए । तत्कालीन सहकारीका सञ्चालकहरुले सहकारीमा रहेको सर्वसाधारणको बचत रकम व्यक्तिगत स्वार्थमा प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ । एक वर्षअघि सहकारी रजिष्ट्रारको कार्यालय पोखराले गरेको छानबिन प्रतिवेदनमा थापाको समूहले सहकारीको करिब डेढ अर्ब रुपियाँ हिनामिना भएको उल्लेख छ ।
सहकारीका अध्यक्ष यमबहादुर रोकाले २०७९ साल माघ २८ गते सहकारी रजिष्ट्रारको कार्यालयमा लिखित निवेदन दिएर सहकारी रकम छानबिनका लागि माग गरेका थिए ।